काठमाडौं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘हाइज्याक’ गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संकटमा परेका छन् । निर्वाचनका बेला र अहिले पनि संसदमा राजसंस्था पुनः स्थापनाको नारा बोकेको राप्रपालाई पूर्वराजा शाह परिवारले नै विश्वास गर्न छाडेको चर्चा चलेको छ ।
झापाको मेचीनगरमा आयोजित कार्यक्रममा प्रसाईले पूर्वराजा शाह परिवारलाई नै एउटै मञ्चमा राखेपछि लिङ्देनमाथि राजसंस्था समर्थकबाटै प्रहार हुन थालेको छ । हिजो राजपरिवारलाई बोकेर अहिले निरपेक्ष बसेका कमल थापाले समेत निरन्तर लिङ्देन नेतृत्वको राप्रपामाथि कटाक्ष गरिरहेका छन् । उनले संवैधानिक राजतन्त्र र भ्रष्टाचार गर्न आमाको रगत पिउनुसरह भएको घोषणा गर्ने राप्रपाले अवैध सम्पत्ति कर तिरेर वैध बनाउने तयारीमा समर्थन जनाएकोमा आलोचना गरिरहेका छन् ।
स्रोतका अनुसार सडक र सदनमार्फत पूर्वराजा शाह एकैपटक हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा अघि बढाउन चाहन्छन् । त्यसका लागि उनले यसबीचमा दुई–तीनपटक लिङ्देनसँग गोप्य भेटवार्तासमेत गरिसकेका थिए । तर सरकारमै रहेर संघीयता विरोधी र राजसंस्था पुनःस्थापनाको एजेन्डा बोक्दा संकट आइपर्ने विवशता सुनाए । उनको सो कुरापछि पूर्वराजा असन्तुष्ट बनेको बताइन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता विरोधी अभिव्यक्ति दिने राप्रपा मन्त्री विक्रम पाण्डे र ध्रुवबहादुर प्रधानलाई स्पष्टीकरण सोधेर मन्त्री पदबाटै हटाउने संकेत पाएपछि लिङ्देन अहिले नरम बनेको बुझिएको छ । अहिले प्रधानमन्त्री प्रचण्ड र राप्रपाका मन्त्रीहरूबीच हार्दिक सम्बन्ध छैन । माओवादी केन्द्रले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउन मन्त्रिपरिषदबाटै निर्णय गर्न सरकारलाई दबाब दिएपछि सो निर्णय गर्न बसेको मन्त्रिपरिषद् बैठक राप्रपा मन्त्रीहरूले बहिष्कार गरेपछि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट बनेको स्रोतले बतायो । राप्रपाकै मागअनुसार पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा लगाएको गुण राप्रपाले बिर्सेको माओवादी नेताहरूको भनाइ छ ।
स्रोतका अनुसार प्रचण्ड राप्रपाका मन्त्रीहरूलाई हटाउने मनस्थितिमा पुगिसकेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको अवस्थामा राप्रपाका मन्त्रीलाई पनि हटाउने उनको योजना थियो । तर कांग्रेस नेताहरूले अहिले नै सो कदम नचाल्न सुझाव दिएपछि प्रधानमन्त्री प्रचण्डले एक साता कुर्ने भएका छन् ।