Friday, March 29, 2024
Homeराष्ट्रीयउपनिर्वाचनले रवि लामिछानेमा जगाइदियो महत्वाकांक्षा

उपनिर्वाचनले रवि लामिछानेमा जगाइदियो महत्वाकांक्षा

काठमाडौं । कहिलेकाहीँ गलत निर्णयले पनि फाइदा हुन्छ भन्ने सटिक उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जीवनमा घटेको छ । मंसिर ४ गतेको निर्वाचनमा रविले पुरानै नागरिकता प्रयोग गरेर उम्मेदवारी दर्ता गरेका थिए । तर अमेरिकाको नागरिकता नत्यागीकन पुरानै नागरिकताका आधारमा उम्मेदवार बनेको भन्दै कानुन व्यवसायी युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट हाले । रिटमाथि संवैधानिक इजलासले सुनुवाइ गर्दै उनको सांसद पद खारेज गरिदियो । उपप्रधानसहित गृहमन्त्रीबाट रविले राजीनामा दिए । उनको सांसद पद खारेज भएपछि चितवन २ मा उपनिर्वाचन भएको हो ।

तनहुँ १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा विजयी रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि दुवै ठाउँमा उपनिर्वाचन भयो । तनहुँ १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले र चितवन २ मा रास्वपाका सभापति रवि विजयी भए । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले लिड गरिरहेका छन् । उनले जित्ने सम्भावना धेरै छ ।

मंगलबार सांसद निर्वाचित भएलगत्तै रवि लामिछानेले भरतपुरमा आयोजित विजयी सभामा भने, ‘अब हामी सरकारमा जाँदैनौं । पाँच वर्षपछि हुने चुनावमा ठूलो पार्टी बनेर सरकार बनाउँछौं ।’ उनको यो घोषणाले अब रविमा प्रधानमन्त्री बन्ने महत्वाकांक्षा बढाइदिएको देखिन्छ । यदि नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका दल परम्परागत ढंगले चलिरहे भने २०८४ को आमनिर्वाचनमा रास्वपाले बहुमत नल्याउला भन्न सकिन्न । किनभने अहिले सहरी क्षेत्रमा जुन ढंगले मत ट्रान्फर्मेसन भइरहेको छ, यसले अर्कै संकेत गरेको छ ।

अब मतदाता कसैको निजी वा पेवा होइन भन्ने स्पष्ट सन्देश दिएको छ ।

अब नेपाली कांग्रेसले बीपी, गणेशमान देखाएर, एमालेले मनमोहन र मदन भण्डारीको आदर्श देखाएर, चुच्चे नक्सा भजाएर, समाजवाद, लेनिनवाद वा जबज देखाएर, माओवादीले महान् जनयुद्ध देखाएर, राप्रपाले राजा, नागरिकता वा खोक्रो राष्ट्रवाद देखाएर अब चल्नेवाला छैन । त्यसमाथि अहिले गठबन्धन गर्नु गलत भएको भन्ने सन्देश गएको छ । यदि दलहरूले अबको पाँच वर्षभित्र आफूलाई अलिकति पनि परिमार्जन नगरे वा भ्रष्टाचार, बेथिति, विसंगति रोक्ने काम नगरे रवि लामिछाने सबैमाथि हाबी हुने दिन टाढा छैन । किनभने लोकतन्त्रमा सबैभन्दा ठूलो जनमत नै हो । जनमतले नै सबैलाई शक्तिशाली र बलशाली बनाइदिन्छ । यो उपनिर्वाचनमा कांग्रेस र एमालेको मत खोसेर दुई क्षेत्रमा रास्वपाले जितेकाले पनि रविमा धेरै महत्वाकांक्षा बढेको स्पष्ट देखिएको छ ।

उनले आफूले चुनाव जित्दै गर्दा अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइसकेका छन् । अब पार्टीको औपचारिक बैठक बसेर निर्णय गर्न बाँकी छ । उनले भ्रष्टाचार नियन्त्रण गर्न आफूले माग गरे पनि प्रधानमन्त्री प्रचण्डले त्यसमा उदासीनता नदेखाएको भनेर उनले जनतामा आफ्नो एजेन्डा छाडिसकेका छन् । त्यसैले अब रास्वपा प्रतिपक्षमा बसेर एमालेको भन्दा खरो ढंगले भूमिका खेल्ने हो कि भन्ने संकेत देखिन्छ । मंगलबारको संसद् बैठकमा रास्वपाका सांसदहरू एजेन्डासहित प्रस्तुत हुन थालेका छन् । तर अन्य दलका सांसदहरू भने स–साना विषयवस्तुमा अल्झेका छन् । यसले पनि अब सडक र सदन दुवैमा रास्वपा हाबी हुने लक्षण देखिन थालेको छ । जुन अन्य दलका लागि भारी पर्न सक्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments