Thursday, April 18, 2024
Homeकोरोना भाईरससरकारले भएकै खोप वितरण गर्न सकेन, ४० लाख डोज भण्डारमै

सरकारले भएकै खोप वितरण गर्न सकेन, ४० लाख डोज भण्डारमै

भिडभाड बढेकाले एकातिर कोभिड संक्रमणको ग्राफ ह्वात्तै उकालो लागिरहेको छ भने अर्कातिर सरकारले भएकै खोप लगाउन सकेको छैन । खोपका लागि चार घण्टासम्म लाइन बस्नुपर्ने स्थितिमा पनि खोप केन्द्र बढाइएको छैन । त्यति मात्र होइन, खोप केन्द्रमा पुगेकाहरु समेत रित्तो फर्किनुपरेका बेला ४० लाख डोज खोप सरकारले भण्डार गरेर राखेको छ ।

कोभिड संक्रमण पछिल्लो एक सातामा ह्वात्तै बढेकाले झापाका सबै बजार क्षेत्र आइतबारदेखि बन्द गरिँदै छ । त्यहाँ शनिबार मात्र १ सय ५३ संक्रमित थपिए । संक्रमण भयावह बने पनि सरकारले तोकेको लक्षित समूहले नै खोप पाउन सकेको छैन । माग अत्यधिक छ, तर भेरोसेल खोप अहिले दैनिक १२ हजारभन्दा बढी लगाइएको छैन । कतिपय स्थानीय तहले त ४५ वर्ष उमेरमाथिको समूहका लागि खोप अभियान बन्द गरिसकेका छन् । अमेरिकाबाट असार २८ मा आएको एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसन खोप झापामा अहिलेसम्म पुगेकै छैन ।

जोनसन खोप झापा मात्र होइन, प्रदेश १ र सुदूरपश्चिमका जिल्लामा पनि लगाउन सुरु गरिएकै छैन । कर्णालीमा बल्ल शनिबारबाट लगाउन थालिएको छ । यो खोप लगाउन स्वास्थ्य मन्त्रालयले असार २८ मै लक्षित समूह तोकी सबै स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको थियो । तर १५ लाख ३४ हजार डोजमध्ये अहिलेसम्म ५ लाख ६३ हजार मात्र लगाइएको छ । ९ लाख ७१ हजार डोज जोनसन खोप अझै सरकारी भण्डारणमा छ । चीनबाट ल्याइएको भेरोसेल खोपको २९ लाख ७० हजार डोज पनि सरकारी भण्डारणमै छ । एकातिर खोप लगाउन देशका सहरी क्षेत्रका केन्द्रमा थेगिनसक्नुको भिड छ, ती केन्द्रले सकिएको कारण देखाएर लक्षित समूहलाई बिनाखोप घर फर्काइरहेका छन् । अर्कातिर खोपलाई मुख्य प्राथमिकता दिएको भनिरहेको सरकारले चुस्त वितरण प्रणाली बनाउन सकेको छैन । महामारीको तेस्रो लहर रोक्न खोप अभियानलाई व्यापक बनाउनुपर्ने सरकारी संयन्त्र केन्द्र बढाउनेदेखि जनशक्ति परिचालनमा नराम्ररी चुकिरहेको छ ।

यसअघि १८ लाख डोज भेरोसेल खोप सित्तैमा दिएको चीनले थप १६ लाख अनुदानमा दिने बताइसकेको छ । यस्तै थप खोप किन्ने प्रक्रिया अगाडि बढाइसकिएको छ । जापान लगायत देशले कोभ्याक्स सुविधाअन्तर्गत खोप सहयोग गर्ने भनेका छन् । यो अवस्थामा भएकै खोप लगाउन गरिएको अलमलले राजनीतिक नेतृत्व, स्वास्थ्य संरचना अनि स्थानीय तहको इच्छाशक्ति नै नभएको पुष्टि गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments