Thursday, April 25, 2024
Homeआर्थिकपढ्नुपर्छ भन्ने संस्कृति कांग्रेसमा खासै छैन : मिनेन्द्र रिजाल

पढ्नुपर्छ भन्ने संस्कृति कांग्रेसमा खासै छैन : मिनेन्द्र रिजाल [अन्तर्वार्ता]

<!—->

<!—->

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले केही दिनअघि सामाजिक सञ्जालमा आफूले १९ वर्षपछि नियमित पढाउन थालेको सुनाए। जसलाई धेरैले सराकात्मक प्रतिक्रिया दिएका छन्। नेताहरुले एउटा चरणको राजनीतिक सफलता र उमेरपछि आफूलाई सामाजिक र बौद्धिक कर्ममा जोड्नुपर्छ भन्ने धेरैले अपेक्षा राखेको पाइन्छ। रिजाललाई त्यसैले पनि धेरैले सकारात्मक प्रतिक्रिया दिएको बुझ्न सकिन्छ। तर उनले आफू राजनीतिबाट भने नअलग्गिएको प्रष्ट पारेका छन्।

राजनीतिक व्यक्तिले पढाउनुको अर्थ के हुन्छ? राजनीतिक नेतृत्वमा रहेको पढ्ने संस्कृति कस्तो छ? पछिल्लो अध्यापन शृंखलालाई केन्द्रमा राखेर नेपाल लाइभका लागि किशोर दहालले रिजालसँग कुराकानी गरेका छन्।


तपाईंले केही दिनअघि सामाजिक सञ्जालमा लेख्नुभयो- ‘सुखद अनुभव, १९ वर्ष पछि नियमित रुपमा पढाउन थालें।’ १९ वर्षअघिचाहिँ के हुन्थ्यो?

१९ वर्षअगाडि शेरबहादुर देउवा नेतृत्वमा सरकार थियो। त्यो सरकारले माओवादीसँग वार्ताका लागि एउटा टोली बनाएको थियो। सञ्चारमन्त्री डा मोहम्मद मोहसिन नेतृत्वको सो टोलीमा हाम्रो पार्टीबाट विमलेन्द्र निधि, म र डा प्रकाशरण महत थियौँ। एमाले र सद्भावनाबाट पनि सदस्यहरु हुनुहुन्थ्यो। वार्ता टोलीको सदस्यको रुपमा काम गरिरहेको बेलामा पनि म नियमित रुपमा पढाउँथे। राजनीतिमा मेरो संलग्नता छँदैथियो। त्यतिबेलासम्म एउटा वा दुइटा कोर्स पढाउन कठिनाइ थिएन। त्यतिबेला एबीएका विद्यार्थीलाई माइक्रोइकोनोमिक्स पढाइरहेका थिए। त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नै हातमा शासन लिएर प्रत्यक्ष शासन सुरु गर्नुभयो। तत्कालीन प्रधानमन्त्रीलाई थुन्नुभयो। शाही आयोग खडा गरेर मुद्दा चलाउनुभयो। हामीहरुलाई  पनि थुन्नुभयो।

एउटा सेमेस्टरमा ३२ वटा कक्षा हुन्थ्यो। त्यसका २२ वटा कक्षा सकिएका थिए, १० वटा बाँकी थिए। त्यति नै बेला म थुनामा परेँ। म निस्किँदा विद्यार्थीको जाँचका लागि दुई हप्ता बाँकी थियो। मैले एउटा हप्तामा पाँच दिन र अर्को हप्तामा पाँच दिन गरेर पढाए। बिजनेस स्कुलका विद्यार्थीलाई माइक्रोइकोनोमिक्सको कक्षा अलि कठिन हुन्छ। त्यसैले उनीहरुलाई असाध्यै दुःख भएको थियो। त्यही दुःख देखेपछि मैले अब आफू नियमित कक्षा पढाउन सक्दिनँ, पढाएँ भने विद्यार्थीमाथि अन्याय हुन्छ भन्ने लाग्यो।

म पार्टीको केन्द्रीय समिति सदस्य, सांसद र मन्त्री भएँ। त्यस क्रममा नियमित पढाउन सक्ने अवस्था रहेन। त्यसैले यो १९ वर्षको यात्रामा पढाउने काम गरिनँ। तर वरियन्टेसन क्लास लिने, ग्राजुएसन क्लास लिने, भिजिटिङ लेक्चररको भूमिका निभाउने, कलेजमा गएर बोल्ने जस्ता काम भने भइरहेकै थियो। तर राजनीतिमा चुर्लुम्म डुबेर काम गरिरहेको बेलामा अध्यापनसँग जोडिएको मेरो परिचय मेरा विद्यार्थीबाहेक अरुले देखेका थिएनन्। जबकि, २३ वर्षअघि एपेक्स कलेज स्थापना गरेदेखि अविच्छिन्न रुपमा त्यसको चेयरपर्सन छु। तर मेरो पढाउने रुपचाहिँ मान्छेले खासै नदेखेको हुनाले अचम्मित भएका हुन्। त्यसैले उनीहरुले शिक्षण पेशामा फर्किए भनिरहेका छन्। तर म फर्किएको होइन। मैले नयाँ पेशा अँगालेको होइन। म राजनीतिमै मज्जाले छु। तर हप्ताको एक दिन आइतबार ८ बजेदेखि १० बजेसम्म नियमित रुपमा पढाउँछु।

तपाईंका बारेमा जानकारी राख्नेहरुलाई थाहा छ कि, तपाईंले देशभित्र मात्रै होइन, देशबाहिर पनि अध्यापन गर्नुभएको थियो। बीचमा निरन्तरता दिनुभएन। अब हप्तामा एक पटक भए पनि नियमित पढाउने भन्नुभएको छ। के अब जेल जानुपर्दैन भन्ने महसुस भएर हो? वा, अध्यापनको पुरानै तिर्सना बल्झिएर हो?

मलाई चिन्नेहरु वा मेरो फरक ढंगको इन्टरभ्युका हेर्नेहरुलाई थाहा छ, यी दुवै (राजनीति र अध्यापन)प्रति मेरो उत्तिकै लगाव छ। जीवनको उत्तरार्द्धमा त म मज्जैले पढाउने काममा लाग्छु। तर अहिले त्यो काममा बढी समय दिन सम्भव भएको छैन। जहिले बढी फुर्सद होला र बढी मज्जाले पढाउने काममा लागौँला भन्ने नै थियो। त्यसैले मैले यो काम गर्नुचाहिँ खासै अचम्म नमाने हुन्छ जस्तो लाग्छ। अर्को विषय पनि प्रष्ट छ। २०५९ असोज १८ मा तत्कालीन राजाले प्रधानमन्त्रीलाई हटाएर आफूले छानेका प्रधानमन्त्रीबाट शासन गर्न थाल्नुभयो। त्यतिबेला म योजना आयोगको सदस्य थिएँ। राजाको कदमको विरोध गर्दै हामीले सामूहिक राजीनामा दियौँ।

त्यतिबेला राजीनामा दिएदेखि २०७८ पुस १ मा महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिँदासम्म १९ वर्ष बितेछन्। तर थाहै नपाइ बितेछन्। दौडेको दौड्यै भएछु। कहिले फुर्सद भएनछ। बिहानदेखि बेलुकासम्म पार्टीका हरेक विषयमा यता मिलाउने र उता मिलाउनेमा बितेछन्। अर्को पार्टीसँगको सम्बन्ध, संविधान निर्माण, लडाकु व्यवस्थापन, शान्ति प्रक्रिया, निर्वाचन प्रणाली जस्ता काममा बिताएछु। पछिल्लो चरणमा त पार्टीको हरेक विषयमा मेरो संलग्नता हुन्थ्यो।

आज म पार्टीको खासै महत्त्वपूर्ण भूमिकामा छैन। किनारामा छु। पार्टी महाधिवेशन भएको १८ महिनापछि भर्खरै केन्द्रीय सदस्यमा मनोनित भएको छु। २०६३ को अन्तरिम संसद्‌पछि अहिले आएर म संसद्‌मा सदस्य पनि छैन। त्यसैले अहिले मसँग पुग्ने समय छ नि त। त्यसैले हप्तामा दुई दिन पढाउनका लागि मैले समय निकाल्न सक्छु भन्ने आत्मविश्वास भएर मैले यो काम सुरु गरेको हो।

NIMB
NIMB

तपाईंको आम परिचय त कांग्रेस नेताकै रुपमा छ। कक्षाकोठामा चाहिँ तपाईंले आफूलाई कति कांग्रेस नेताको रुपमा र कति शिक्षकको रुपमा प्रस्तुत गर्नुहुन्छ?

अहिले मैले पढाउने कोर्स म आफैंले डिजाइन गरेको हुँ। त्यसको एउटा टपिक पपुलिजमसँग सम्बन्धित छ। त्यसलाई मैले सुरु गरेको छु। पछि दुई लेक्चरमा सकाउने भन्ने छ। त्यसबारे बताउँदा मैले हेनरी किसिन्जरको ‘एज अफ एआई’लाई कोट गर्छु। एआईमा आएको त्यो कुरा पपुलिजममा पनि सान्दर्भिक छ। आजको दिनमा मान्छेलाई तुरुन्त चाहिएको छ। आ-आफ्नो इकोच्याम्बर बनेको छ। अर्को विचार नै छैन जस्तो गरिएको छ। मैले उदाहरण पनि दिन्छु, केपी शर्मा ओलीको इकोच्याम्बरमा भएका अरिंगालको गोलोको बीचमा अरु कोही पस्यो भने हालत के होला? त्यस्तै पुष्पकमल दाहाल प्रचण्डको इकोच्याम्बरमा भएका अरिंगालको बीचमा अरु कोही पर्‍यो भने के हालत होला? रवि लामिछानेको पनि त्यस्तै छ। सबैभन्दा चर्को अरिंगाल उहाँको छ। त्यहाँ पर्‍यो भने कसो होला? यतिञ्जेल मैले मेरो मुख्य कुरा भनिसकेको हुन्छु। अनि मेरै पार्टीका पनि साथीहरुको अरिंगालको बीचमा पर्‍यो भने अर्को विचार राख्नलाई कति कठिनाइ होला त? भनेर हाँस्छु। पढाउने कुरामा त्योभन्दा राजनीतिक कहीँ पनि आउँदैन। त्यसैले कक्षामा जाँदाखेर म आधारभूत रुपमा शिक्षक हो। कक्षामा म नेता, कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री वा पूर्वसांसद केही पनि हुन्नँ। शिक्षक मात्रै हुन्छु।

तपाईं जसरी अध्यापन गरिरहनुभएको छ। तर धेरैले अपेक्षा राख्छन्, एउटा उमेर र उचाइपछि नेताहरु राजनीतिबाट अलग्गियुन् र सामाजिक र बौद्धिक काममा लागुन्। विशेषतः यस्तै गरी अध्यापनतिरै लागुन् र आफूले जीवनभर हासिल गरेको अनुभव नयाँ पुस्तासँग बाँडुन्। तपाईंलाई के लाग्छ, त्यतातिर जानुपर्छ?

मान्छेहरुले बाराक ओबामाको उदाहरण दिन्छन्। अन्य नेताको उदाहरण दिन्छन्। तर म ओबामा होइन। मैले अहिले राजनीतिबाट अवकाश लिएको पनि छैन। म अझै चुनाव लड्ने हो। मैले पहिले पनि भनेको छु, देशको चुनाव अझै एउटा लड्छु, पार्टीको चुनाव पनि एउटा लड्छु। पार्टीको चुनाव लडेँ, हारे। देशको चुनाव लड्नै पाइनँ। अन्यायपूर्ण ढंगले चुनाव लड्न दिइएन। त्यो लड्ने मेरो इच्छा छ। इच्छाशक्ति र दृढता छ। यो अवकाश भयो भनेको त बसिरहने भयो भने कसैलाई निराशा पनि होला तर म अवकाश भएको छैन। त्यस्तो मान्छेहरुलाई ‘सरी’ भन्न चाहन्छु। तर पढाउने कुरामा मेरो संलग्नता हुन्छ।

विद्यार्थी र समाजलाई केही कुरा भन्नु छ भनेर यदि कसैलाई महसुस भएको छ भने, ती विषय आफूभित्र छन् भने त्यसलाई भन्न थाल्नुपर्छ भन्ने लाग्छ। शिक्षणको पेशाबाट राजनीतिमा आएको अथवा राजनीतिमा रहेकाहरुलाई अब पढाउने र अरुलाई ज्ञान दिने, किताब लेख्ने हो भन्ने महसुस भएका, दुवैथरीले पढाउने कोसिस गर्नुपर्ला, पढाउनुपर्ला भन्ने लाग्छ। तर सबैभन्दा महत्त्वपूर्णचाहिँ भन्नका लागि केही विषय हुनुपर्छ। त्यसैले तपाईंको प्रश्नको एक लाइनको उत्तर भनेको ‘हो, गर्नुपर्छ’ भन्ने नै हो।

मैले किन पढाइरहेको छु त? मैले पढाउने टपिक्स तय गरेको छु। मलाई लाग्छ, ती निकै महत्त्वपूर्ण छन्। विद्यार्थीका निम्ति उपयोगी छन्। त्यसैले म पढाउन गएँ। अघिको कुरामा जोड्दा, पढाउने जानेसँग विद्यार्थीलाई सुनाउनका लागि केही नयाँ कुरा हुनुपर्‍यो। विषयमा ‘भ्यालु एड’ गर्न सक्नुपर्‍यो। आफ्नो कुरा भन्ने मात्रै होइन, विद्यार्थीसँग त्यसलाई सान्दर्भिक बनाउँदै साझा रुचिको विषय बनाउन सक्नुपर्‍यो। त्यो पक्ष बढी महत्त्वपूर्ण छ।

तपाईं नेपालमा पढ्नुभयो, पढाउनुभयो। विदेशमा पनि पढ्नुभयो, पढाउनुभयो। पढ्ने-पढाउने सवालमा नेपाल र विदेशमा के फरक हुँदोरहेछ?

म २०५३ सालमा अमेरिकाबाट नेपाल फर्किएको बेलामा भन्दा अहिलेको नेपाल धेरै अगाडि छ। त्यतिबेलाको नेपालको अध्ययन अध्यापनको पद्धति र स्तरभन्दा नेपाल निकै माथि गइसकेको छ। कोभिडले अरु धेरै नराम्रो गर्‍यो होला तर नयाँ प्रविधिमा सबैलाई अभ्यस्त बनाउँदै लगेको छ। त्यसैले यो पक्षमा धेरै ‘ल्याक’ छैन। अध्ययन अध्यापनमा पनि ‘ल्याक’ छैन होला। तर हाम्रो जीवनको अरु थुप्रै पक्षमा ‘ल्याक’ छन्। अहिले हामी दुई फरक विश्वमा छौँ। एउटा विश्वमा मेरो गाउँको, दुःखको, कहरको छ। घरपरिवार कसरी धान्ने भनेर विदेशमा जागिर खोज्न दौडिएका छन्। उसले पैसा पठाएपछि घरको जोहो गरौँला भन्ने छन्। अर्कोतिर, प्रविधिले उच्च तहमा पुग्ने, चकाचौध हुने पनि बनाएको छ। त्यसैले विरोधाभाष छन्। त्यो पक्ष छँदैछ। त्यसैले राज्यको चुनौती छ, प्रविधिमा रहेको ग्याप र रियल लाइफको ग्याप र विरोधाभाषलाई कसरी सही दिशातिर लैजाने?

तपाईंले २०५३ सालको कुरा गर्नुभयो। त्यसयता धेरै सुधार भएको पनि भन्नुभयो। तर उच्च वर्गका, नीति निर्माण तहका मान्छेहरुका सन्तानहरु पढ्नकै लागि भनेर बाहिर गइरहेको हुन्छन्। पहुँचहीनका सन्तान मात्रै यहाँ बस्ने र पढ्ने जस्तो भइरहेको छ। दुई थरी वर्ग देखिएको छ। यसलाई सम्बोधन गर्न नेतृत्व तहले इच्छाशक्ति नै नराखेको देखिन्छ। यसले त तपाईंहरुलाई चिमोट्नुपर्ने होला नि?

तपाईंले भनेको जस्तो समस्या छँदैछ। तर पहिले गज्जब थियो, सबैले जे पनि गर्न सक्थे नभन्नुस्। म अमेरिका गएँ। युनिभर्सिटी टप गरेँ। पढाएँ। किताब प्रकाशित गरेँ। नेपाल फर्केर आएँ। मनमा सन्तुष्टि लिने काम यो बाहेक अरु पनि हुनसक्थ्यो भन्ने त मलाई छँदैथियो। तर मैले पढ्न सुरु गरेको त एक नम्बर पाठशालाबाट हो। त्यतिबेला त सबै जना त्यहीँ जान्थे। तर सबैको सुरुवात एउटै हुन्थ्यो भन्दा पनि गलत नै हुन्छ। किनकि, म कक्षामा फस्ट ब्वाइ थिएँ। मैले अक्षर सिक्ने बेलादेखि ट्युसन पढ्न पाएकाले त्यो सम्भव भएको थियो। मलाई घरमा वातावरण थियो। मैले त्यो सुविधा नपाएको भए अन्य विद्यार्थी जस्तै हुन्थेँ होला नि त। त्यसैले हिजोको नेपालमा पनि असमानता थियो। मज्जाले थियो। तर हिजोको असमानता भूमिमा आधारित थियो होला। असमानताको आकार पनि धेरै गुणाको फरक हुँदैनथ्यो होला, हाम्रो अर्थतन्त्रको आकारको कारणले। आज अर्थतन्त्रको आकार नै ठूलो भएकाले असमानता पनि बढेको छ। भ्रष्टचारको स्केल पनि कसैले कल्पना नगरेको ठाउँमा पुगेको छ।

हिजो दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति भए। आप्रवासीको सन्तान पनि यहाँ पुगेँ भन्छन्। त्यो समाज पनि नवउदारवादी अर्थतन्त्रको अर्डरपछि थुप्रै अविकसित र अल्पविकसित मुलुकको गरिबी घट्यो होला। तर असाध्यै ठूलो मध्यमवर्गीय समाज भएको देशमा पनि असमानता भने चुलिएर गएको छ। 

नेपालमै पनि आजको दिनमा सबैभन्दा धनी र सबैभन्दा गरिब र हिजोको सबैभन्दा धनी र सबैभन्दा गरिबको फासला निकै ठूलो भएको छ। यो फासला बाँसको चिरा जस्तै पर्दै गयो भने चाहिँ यसले अरु पनि कठिनाइ ल्याउन सक्छ। यसमा राजनीति गर्ने, नीति बनाउनेहरु र राजनीतिक पार्टीको ध्यान पुग्नुपर्छ। त्यहीमाथि निराशा चुलिएको बेलामा त झन् बढी ध्यान दिनुपर्छ। त्यसैले तपाईंको अवलोकनसँग म पूर्ण सहमत छु।

तपाईंले यतिञ्जेल जे भन्नुभयो, त्यसले तपाईंको अध्ययनको दायरा नै देखाउँछ। जुनसुकै पार्टीको भए पनि राजनीतिक नेतृत्व तहका साथीभाइबीच पुस्तक अध्ययनको विषयमाचाहिँ कत्तिको छलफल हुन्छ? नेताहरुबीच ‘तैंले के पढिस्?’ भन्ने हुन्छ कि हुँदैन?

खासै हुँदैन। मैले साथीहरुलाई जिस्काउने पनि गरेको छु। मलाई भेट्न साथीहरु आउनुहुन्छ। म केही व्यस्त साथीहरुको नाम लिएर, तपाईंले अनुहार मात्रै देखाएर र फलानो नेताले मेरो अनुहार देख्यो, कहीँ मलाई सहयोग गर्ला भन्ने हो भने फलानो नेताकहाँ जानुस् भन्छु। होइन, फुर्सद छ भने, एक छिन कुरा सुनौँ भन्ने लाग्छ भने मकहाँ आउनुस्। तपाईंलाई म ‘दाइ जय नेपाल’ भनेर जान दिन्नँ। १०/१५ मिनेट कुरा सुनाउँछु भनेर भन्छु। आधा गम्भीरता र आधा मजाकमा म यस्तो भन्छु।

तर हामीकहाँ त्यो (पढ्ने विषयको छलफल गर्ने) संस्कृति छैन। सोच कस्तो छ भने, नेपाली कांग्रेस भनिसकेपछि त संस्कृतिकै हिसाबले पनि सबै जानिसकेको हुन्छ। नेपाली कांग्रेस भइसकेको मान्छेले जान्न के बाँकी छ र, अरुले पनि सिक्न बाँकी होला भन्ने सोच छ। पढ्नुपर्छ भन्ने संस्कृति मेरो पार्टीमा खासै छैन। यो यस्तो पार्टी हो, जसका नेताहरु सुन्दरीजल जेलमा आठ वर्ष बस्दाखेर एउटा पाठशाला बनेको थियो। हरेक दिन अध्ययन गर्ने पाठशाला थियो। बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले लेखेको कुरामा कहीँ न कहीँ त्यो प्रतिबिम्ब देखिन्छ। कत्रो ठूलो पाठशालामा उहाँहरु बस्नुभएको थियो भन्ने देखिन्छ। किसुनजीले जेलमा बस्ने अन्य नेतालाई पढाउनुहुन्थ्यो। ज्ञानेन्द्रबहादुर कार्कीलाई नै किसुनजीले पढाउनुभएको थियो। उहाँलाई सोध्न सकिन्छ। जेलमा बसेका नेताहरुलाई जाँच दिन लगाउनुहुन्थ्यो। त्यसैले त धेरैले जेलबाटै बीए, एमए पास गरेका थिए। त्यो संस्कृति भएको कांग्रेस आज कहीँ पनि लेखपढको कुरै गर्दैन। मेरो पार्टीमा पढ्ने जरुरत पर्दैन, कांग्रेस भएपछि के पढ्नुपर्छ र? भन्ने संस्कृति विकास भएको छ।

अहिले नेता बन्न पढ्नु पर्दैन भन्ने सोच विकास हुन थालेको हो कि! केही दिनअघि मात्रै विद्यार्थीले शिक्षकलाई कालोमोसो दलेको समाचार आयो। उनीहरु नै भोलि नेता हुन्छन् भन्ने धेरैलाई लाग्छ। अहिलेका कतिपय नेताहरुलाई ढुंगा हानेका नेताहरु भनेर बिम्ब नै बनाइएको छ। नेता बन्ने भए किताब किन समात्नुपर्‍यो, ढुंगा समाते भइहाल्छ भन्ने धारणा विकास भइरहेको हो?

कालोमोसोवाला प्रसंग गलत नै हो, त्यसो गर्न पाइँदैन। म कांग्रेसकै नेता हुँ। अहिले प्रभाव घटेको भए पनि अलि अघिसम्म मेरो राम्रै प्रभाव थियो। मेरो कलेज (एपेक्स), जहाँ म चेयरपर्सन छु, त्यहाँ पनि भत्काउने, कालो दलिदिने, मेरो कोठामा ढुंगा हानिदिने काम नेविसंघकै मान्छेले गरेका छन्। त्यो गलत नै हो।

तर ढुंगा उठाउने व्यक्तिहरु नेता भएका छन् भनेर तपाईंले भनेको अर्को कुराचाहिँ मिल्दैन। किनभने, ढुंगा उठाएका कारणले नेता भएका होइनन्। ढुंगा उठाएर हिजो सुरुवात भयो होला, तर आज गहिरो र राम्रो अध्ययन गरेर समाजमा योगदान गरेर नेता बनेका छन्। यदि कसैले त्यो सेन्स लिन्छ भने त्यो सर्वधा गलत हुन्छ। हिजो विद्यार्थी राजनीतिका सुरुवातका दिनमा एउटा विद्रोहको भावको तस्बिर जुन बाहिर देखिन्छ, त्यो तस्बिर नै आजको, मज्जाको, घच्चीको, नेपालको, नेपाली कांग्रेसको नेता बनेको हो भन्ने कसैलाई भ्रम छ भने त्यो गलत बिम्ब हुन्छ। त्यस्तो भएको होइन। राम्रोसँग तयारी गरेर, धेरै मान्छेको सहयोग र साथ लिएर, आफ्नो पनि क्षमतालाई उपयोग गरेर त्यो ठाउँमा पुगेका नेता हुन्। हिजो ढुंगा समातेर नेता बनेका होइनन्। यात्रा सुरु गर्दाखेर म देश र जनताका लागि जेसुकै पनि सहन तयार छु, दुःख सहन तयार छु भन्ने प्रतिबद्धताचाहिँ हातमा लिएको ढुंगाले देखाउँछ। आज बनेको नेताचाहिँ काम गर्न सक्ने डिटरमिनेसनले नै पुर्‍याएको हो। भ्रम नहोस्, यात्रा कहाँबाट सुरु भएको हो तर यहाँ आइपुग्दा चाहिँ सफलताका अन्य फ्याक्टरहरु धेरै छन्।

विस्तृत अन्तर्वार्ता भिडिओमा हेर्नुहोस्-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments