Friday, May 17, 2024
Homeआर्थिकआरजुमाथि करोडौं लेनदेनको लाग्छ आरोप, तर किन हुँदैन अनुसन्धान ?

आरजुमाथि करोडौं लेनदेनको लाग्छ आरोप, तर किन हुँदैन अनुसन्धान ?

नेपाली कांग्रेस पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा बेलाबेलामा चर्चामा आइरहन्छिन् । ठूलठूला भ्रस्टाचारका काण्डमा समेत उनको नाम मुछिएर आउँछ । श्रीमान पार्टीको नेतृत्वमा भएकै कारण पार्टीभित्रसमेत उनि हाबी हुने कतिपय कांग्रेसकै नेताहरूले बताउने गरेका छन् ।



गत वैशाखमा नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अनुसन्धानको सिलसिलामा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायतलाई प्रहरीले नियन्त्रणमा लियो । 



सोही प्रकरणमा आरजुको नाम पनि जोडिएर आयो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जुले रकम लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको थियो । 



पक्राउ परेका व्यक्ति र पीडितबीच अडिओमा कुराकानी भएको सुनिन्छ। अडिओ उक्त प्रकरणका गिरोहका सदस्य सन्देश शर्मा र नक्कली भुटानी बनेर अमेरिका उड्न चाहने व्यक्तिको भएको बताइन्छ । उनीहरूबीचको कुराकानीमा आरजु र मञ्जुलाई गरी साढे आठ करोड रुपैयाँ बुझाएको भन्ने सुनिन्छ ।


तर, सांसदसमेत रहेकी आरजुले उक्त अडियो आफ्नो नभएको दाबी गरिन् । आरजुले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाइन् । प्रतिनिधि सभामा नै विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी थिइन् । 


आरजुले यसमा आफ्नो कुनै संग्लनता नरहेको टिप्पणी गर्दै भनेकी थिइन्, ‘नक्कली शरणार्थी प्रकरण देशकै लागि लज्जास्पद काण्ड हो । कस्तो परिस्थिति होला हाम्रो देशको? आफ्नो भएको नागरिकता पनि त्यागेर म चाहिँ अर्को देशको नागरिक भनेर जाने बाध्यता हुने अवस्था कस्तो होला ?,’ 



उनले आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । आरजुले आफूलाई लक्षित गरेर आएका खबर निराधार र कपोकल्पीत भएको बताएकी थिइन् । 


उनले प्रेस विज्ञप्ति नै जारी गरेर भनेकी थिइन्, ‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पीत आरोप लगाउदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हरेक व्यक्तिलाई आफ्नो बिचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहिन गालि गलौज र लान्छाना लगाउने अधिकार छैन ।’



नक्कली भुटानी शरणार्थी प्रकरण सेलाउन नपाउँदै आरजुको अर्को ठूलै‘लेनदेन’ दाबी गरिएको अडियो सार्वजनिक भएको छ ।  गत वर्षको स्थानीय तह निर्वाचनमा मेयरको टिकट करोडौंमा आरजुले बेचेको अडियो अहिले सामाजिक सञ्जालमा आएको छ ।

पाँचथर जिल्लाको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले निर्वाचनमा टिकट लिन आरजुलाई दुई करोड रकम बुझाएको दाबी उक्त अडिओमा गरिएको छ । अडिओमा आरजुलाई टिकटको लागि उक्त पैसा बुझाएको दाबी गरिएको छ । नेपाली कांग्रेस पाँचथरका सहसचिव सन्तोष श्रेष्ठले काफ्लेको तर्फबाट आरजुलाई पैसा बुझाएको भनिएको छ ।

कांग्रेसका तर्फबाट फिदिम नगरपालिका प्रमुखका दाबेदार मध्यका एक प्रकाश गुरुङसँग उनै श्रेष्ठले सम्वाद गरेका छन् । कुराकानीका क्रममा नगरपालिका प्रमुखका अर्का दाबेदार काफ्लेबाट दुई करोड रुपैयाँ आरजुलाई दिइसकेको बताएका छन् । 

यो अडियो बाहिरीएपछि त्यसमा कुरा गर्नेमध्येका एक जना कांग्रेस पाँचथरका सहसचिव श्रेष्ठले अडियो सम्वाद सम्पादित भएको बताउँदै आएका छन् । तर, यसबारेमा आरजुले भने सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।  

पार्टी सभापति देउवा भएको कारण निर्वाचनका लागि टिकट वितरणमा समेत आरजुले चाहेको व्यक्तिको नाम छनोट हुने आरोम कांग्रेसकै नेताहरूले लगाउने गरेका छन् । हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसमा सभापति दम्पतीको हेपाइ र अपमान सहन नसकेको भन्दै पार्टी छाडेको उल्लेख गरेका थिए ।

त्यसबेला उनले भनेका थिए, ‘पछिल्ला वर्षहरूमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’

कांग्रेस सभापति देउवा पत्नी आरजुमाथि बेलाबेला यस्ता लेनदेनका आरोप लाग्ने गरेको भए पनि अनुसन्धान भने हुने गरेको छैन । 

  • प्रकाशित मिति : ४ मिनेट अघि,  


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.6”;
fjs.parentNode.insertBefore(js, fjs);
}
(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments