Wednesday, April 24, 2024
Homeराष्ट्रीयसंसदीय चुनावमा स्वतन्त्र उम्मेदवारीको लहर, छैन सहज ?

संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारीको लहर, छैन सहज ?

काठमाडौँ–आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने क्रम बढ्दो छ । अहिलेसम्म काठमाडौँ १ बाट पुकार बम, ५ बाट रञ्जु दर्शना, काठमाडौँ ७ बाट प्रशन्न अर्याल, काभ्रे २ बाट मनोज पण्डितलगायतले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विहीबार सञ्चारकर्मी रवि लामिछानेले समेत राजनीति शुरु गर्ने घोषणा गरेका छन् । औपचारिक घोषणा गरिनसकेका भएपनि लामिछानेले काठमाडौँकै कुनै क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारी गरेका छन् । कारणहरु धेरै रहेपनि यसरी भटाभट उम्मेदवारी घोषणा गर्नुको एक मूख्य कारण काठमाडौँ, धरान, धनगढी लगायत ठाउँमा स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी हुनु पनि एक मूख्य कारण हो ।

नागरिक अगुवा श्याम श्रेष्ठ दलहरुप्रतिको अविस्वासका कारण स्वतन्त्र उम्मेदवारप्रति जनमत बढेको र राजनीतिक दलहरु नसच्चिएपछि जनताले विकल्पको रुपमा स्वतन्त्रलाई आफ्नो मत दिने गरेका कारण पनि स्वतन्त्र उम्मेदवारी दिनेहरु बढ्दै गएको बताउँछन् ।

क्यानडा नेपालसँग श्रेष्ठले भने, ‘भर्खरै भएको स्थानीय तहको निर्वाचनको परिणामले जनताले दलहरुलाई विश्वास नगरेको केही उदाहरण आए । काठमाडौँ, धरान र धनगढीमा त स्वतन्त्रले मेयर नै जित्नुभयो । वडाअध्यक्ष र सदस्य त अझै धेरैजनाले जित्नुभएको छ । यो जनमतले देशमा विद्यमान राजनीतिक दलहरुलाई सच्चिने ठूलो चेतावनी दिएको हो ।’

जनमतले सच्चिन चेतावनी दिए पनि दलहरु सच्चिने पक्षमा नदेखिएको श्रेष्ठको भनाइ छ । नेकपा एमालेले अन्तर्घात भयो भन्नु, माओवादीले सिट थपिएर आएको छ भन्नु, कांग्रेसले गठबन्धनमा आफूलाई सन्तुष्ट पार्नुले दलहरु अझै सच्चिएर आउने सम्भावना नदेखिएको उनको भनाइ छ । यसले स्वतन्त्र उम्मेदवारलाई नै सजिलो हुने उनी बताउँछन् ।

काठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवारी घोषणा गरेका पुकार बम पनि अन्य धेरै कारणहरूका साथमा स्थानीय तहमा आएको मत र परिणामले पनि स्वतन्त्र उम्मेदवारीका लागि हौस्याउने एक कारण रहेको बताउँछन् ।

यसअघि विवेकशिल नेपाली दलका तर्फबाट उम्मेदवार रहेका उनी यसपटक भने स्वतन्त्र रुपमा उम्मेदवार बन्दै छन् । क्यानडा नेपालसँगको कुराकानीमा उनले राजनीतिक दलहरुले जन अपेक्षित काम नगरेकाले पनि स्वतन्त्रले हस्तक्षेप गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन् ।

नागरिक अभियान्ता श्रेष्ठ स्वतन्त्र उम्मेदवारलाई जनमत पाउने अवसरसँगै चुनौती पनि रहेको बताउँछन् । संसद कानून निर्माण गर्ने थलो भएका कारण स्वतन्त्र रुपमा जानेहरुको बहुमत नहुने भएकाले उनीहरुले अपेक्षा गरेको जस्तो कानून नबन्ने र त्यस अनुसार जनताको अपेक्षा अनुसारको काम नहुने खतरा पहिलो चुनौतीको रुपमा रहने श्रेष्ठ औँल्याउँछन् ।

त्यस्तै, राजनीतिक दलहरूले स्वतन्त्र उम्मेदवारबाट ठूलो चुनौतिको महसुस गरेपछि भौतिक आक्रमणकै पनि खतरा रहने उनी बताउँछन् ।

अर्को चुनौतिको रुपमा संगठनको विस्तार पनि हुने श्रेष्ठको भनाइ छ । उम्मेदवारको लोकप्रियता भएपनि संगठन नहुँदा समस्या हुने उनको बुझाइ छ । ‘पार्टीहरुसँग लड्न संगठन चाहिन्छ । यस्तै भनेबमोजिम दलहरुभन्दा भिन्न र दलहरुभन्दा उन्नत सावित गरेर देखाउनु पनि स्वतन्त्रका लागि चुनौति हो । नागरिक प्रति उत्तरदायी भएर त्यसलाई व्यवहारमा देखाउनु पनि स्वतन्त्र उम्मेदवार र विजयीका लागि चुनौति हुने उनले बताए ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल नेपालमा राजनीतिक दलप्रति नागरिक असन्तुष्ट भएको स्वीकार गर्छन् । त्यसैकारण पनि स्वतन्त्र उम्मेदवारी खासै नयाँ अनुभव नभएको उनको बुझाइ छ । क्यानडा नेपालसँग उनले भने, ‘सबै निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठेकै छन् । अहिले पनि त्यसको निरन्तरता हो । त्यसलाई केही फरक हो भन्न मिल्दैन ।’ नेपालको राजनीतिमा बैकल्पिक शक्तिको बहस चलिरहँदा उनी स्वतन्त्रे उम्मेदवारी मात्रलाई वैकल्पीक राजनीतिको बाटो भन्न नमिल्ने तर्क गर्छन् । भन्छन्–‘चुनावमा आउने स्वतन्त्र उम्मेदवारी दिनेहरुको वेबलाई नै आधार मानेर वैकल्पिक राजनीतिको बाटो सुरु भयो भन्न मिल्दैन ।’

राजनीतिले बैकल्पिक बाटो लिनका लागि धेरै विषय आवश्यक भएको उनको भनाइ छ । स्वतन्त्र भनेर उम्मेदवार बन्नु वा जित्नु नै मात्र पनि राजनीतिको बाटो नभएको भन्दै उनी अहिलेका स्वतन्त्र उम्मेदवार वा विजेता वैकल्पिक शक्ति नभएर व्यक्ति मात्र भएको र मतदानमा मतदाताले दलहरूप्रतिको वितृष्णा अभिब्यक्त गरेको बताउँछन् ।

राजनीतिक दिशा दिन व्यक्ति भन्दा संस्था हुनु पर्ने उनको भनाइ छ । उनी थप्छन्– ‘उदाहरणको लागि बालेन शाहलाई खबरदारी गर्नुपरे कोसँग गएर भन्नु ? उहाँलाई भेट्दै हिँड्न पनि त्यति सहज हुँदैन । दलका भए अन्य नेता तथा कार्यकर्तालाई पनि खबरदारी गर्न सकिन्छ ।’

दलहरु नसुध्रिएकाले दलहरुबाट योग्य मान्छे आउन सक्दैन भन्ने भएकाले पनि स्वतन्त्र उम्मेदवाररूप्रति नागरिकले बढी नै भरोसा गरेको देखिन्छ । खासगरि भर्खरै सकिएको स्थानीय तहको निर्वाचनमा यो पुष्टि नै भयो पनि ।

तर, स्थानीय तहको जस्तो संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारप्रति नागरिकको भरोसा कस्तो रहला भन्ने चाहिँ विश्लेषण गर्न सहज छैन । नागरिक अगुवा श्रेष्ठ यो परिणामले दल र नेताहरूलाई अब पनि नसच्चिए र नागरिकप्रति उत्तरदायी नभए हामी बिकल्प खोज्न बाध्य हुन्छौँ भनेर बजाएको खतराको घण्टी भएको टिप्पणी गर्छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments