Sunday, April 28, 2024
Homeआर्थिकखाण पक्राउ पर्दा सुशासनको पक्षमा, शर्मा पक्राउ पर्दा आरोपितको पक्षमा

खाण पक्राउ पर्दा सुशासनको पक्षमा, शर्मा पक्राउ पर्दा आरोपितको पक्षमा

<!—->

<!—->

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा गत वैशाख २७ गते पूर्व गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परे। त्यसपछि उनलाई पार्टीबाट निलम्बित गर्नुपर्छ वा पर्दैन भन्नेमा कांग्रेस नेतृत्व नै दुई धारमा विभाजित भयो। सार्वजनिक मतमतान्तर जारी रहेकै बेलामा साउन २ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा यो विषयको प्रवेश कसरी होला, सदस्यहरुले कस्तो मत व्यक्त गर्लान् भन्ने चासो थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका भनेर चिनिएका केन्द्रीय सदस्यहरुले त खाणको बचाउमा बोले। उनलाई साथ दिनुपर्ने धारणा राखे। जुन अपेक्षित नै थियो। शेखर कोइराला-गगन थापा पक्षका केही नेताहरुले आरोपित स्वयंले जवाफदेही हुनुपर्ने भन्दै खाणको पक्षमा पार्टी उभिन नहुने मत राखे। त्यस्तै मत राख्नेमध्येका एक थिए, अजयबाबु शिवाकोटी। साउन ४ गतेको बैठकमा बोलेका उनले खाणमाथि अन्याय भयो भन्ने लागेको हो भने सरकारबाट हट्नुपर्ने नत्र उनलाई निलम्बित गरिनुपर्ने मत राखे। 

शिवाकोटीले खाणलाई निलम्बन नगरिए जनमानसमा कांग्रेस रक्षात्मक हुने प्रष्ट पारे। ‘सरकार र साथीमध्ये एक के रोज्ने हो। यो बैठकले टुंगो लगाउनुपर्छ,’ शिवाकोटीको निष्कर्ष थियो, ‘तर मलाई खाने बाघले तँलाई पनि खाला भन्ने डर जस्तो भाष्य स्थापित गर्ने प्रयास गरेर जनमानसमा कांग्रेसलाई रक्षात्मक बनाउने काम नहोस्।’

शेखर कोइरालाले पनि समग्रतामा यो विषयलाई जोडे। यद्यपि, उनले खाणको नाम भने लिएनन्। साउन ७ गतेको सम्बोधनमा उनले भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिँड्ने भन्दै कांग्रेसले भ्रष्टाचारीको संरक्षण गर्न नहुने धारणा राखे। उनको भनाइ थियो, ‘कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा गएर भोट माग्न सक्ने अवस्था हामीसँग छैन।’

कांग्रेसभित्रको गुटगत पक्षधरता र धारणाको प्रसारमा कोइराला, शिवाकोटी वा यो पक्षका नेताहरुको अभिव्यक्ति स्वाभाविक थियो। उनीहरुले सुशासनको पक्षमा आफूलाई उभ्याएर स्वयंलाई सुशासनको पक्षधर कांग्रेसीको पहिचान दिलाउने प्रयत्न गरेका थिए। कांग्रेस केन्द्रीय समितिमा देउवा पक्षका सदस्यहरू प्रचुर रहेको परिप्रेक्ष्यमा खाणलाई निलम्बन गरिँदैन भन्ने त प्रष्ट नै थियो। तैपनि, लाइभ भइरहेको बैठकमा केही सदस्यले राखेको धारणाकै कारण जनमानसमा त्यहाँ भित्रको मनस्थितिलाई छर्लंग पार्न भूमिका खेलेको थियो।

बैठक सकिएको दुई हप्तापछि कांग्रेसका एक जना सांसद सुनिल शर्मा पक्राउ परे। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा उनलाई साउन २५ गने गोल्फुटारबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो। सीआईबीले शर्मालाई थुनामै राखेर अनुसन्धान गर्दै भोलिपल्ट जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो। तर न्यायाधीश दण्डपाणी शर्माको एकल इजलासले थुनामुक्त राखेरै अनुसन्धान गर्न आदेश दियो। उनी त्यसै दिन थुनामुक्त भएका थिए। 

तर, केन्द्रीय कार्यसमिति बैठकमा सुशासनको पक्षमा उभिएका नेताहरु भने यस पटक आरोपित शर्माको पक्षमा उभिए। जसरी खाणको बचाउमा उत्रिएका नेताहरुले सरकारले उनीमाथि प्रतिशोध साँधेको भनेर तर्क गर्थे, शर्मा पक्षका नेताहरुले उसैगरी उनको पक्राउलाई प्रतिशोधको रुपमा स्थापित गर्ने प्रयत्न गरे। यो पक्षका नेताहरुलाई यतिबेला सुशासनभन्दा पनि शर्माप्रति विश्वास देखियो। उनीहरुले आफूलाई आरोपितको पक्षमा प्रस्तुत गरे। कोइराला स्वयंले नै सुन काण्डबारे बोल्दा सरकारले शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाए। कांग्रेसभित्र शर्मालाई कोइराला पक्षका नेताकै रुपमा चिनिन्छ।

‘सुन काण्डमा नेपाली कांग्रेसका एक जना सांसद (सुनिल शर्मा)ले उपप्रधानमन्त्री (नारायणकाजी श्रेष्ठ) र अर्थमन्त्री (प्रकाशशरण महत)को राजीनामा माग्नुभयो। उहाँले गल्ती/कमजोरी गर्नुभएको होला। त्यसमा मलाई केही भन्नु छैन। गल्ती कमी-कमजोरी भएका छन् भने दोषी हुनुपर्छ। दण्डित हुनुपर्छ। तर प्रतिशोधको भावना लिएर अगाडि बढ्दाखेर हामी कहाँ पुग्छौँ?’, भक्तपुरको कौशलटारमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आयोजना गरेको क्षेत्रीय सभामा बोल्दै उनले भनेका थिए।

nimb
nimb

केन्द्रीय समिति बैठकमा सुशासनको पक्षमा उभिएका शिवाकोटीले पनि शर्मा पक्राउ पर्नासाथै सामाजिक सञ्जालमा स्टाटस लेखेर असन्तुष्टि व्यक्त गरेका थिए। उनको आसय पनि सुन तस्करीको विषयमा बोल्दै आएकाले शर्मालाई पक्राउ गरिएको भन्ने थियो। ‘केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआईबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो? संसद् चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन्? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै एकजुट भएका हुन्?’, उनको प्रश्न थियो। 

जसरी देउवा पक्षका सांसदले खाणलाई अप्ठ्यारो परेका बेलामा मद्दत गर्नुपर्ने भनेर धारणा राखेका थिए, कोइराला लगायतका नेताहरु पनि शर्माको पक्षमा त्यसैगरी उभिए। आफू र आफूले प्रतिनिधित्व गर्ने पक्षको यस किसिमको दोहोरो शैलीका सम्बन्धमा शिवाकोटीले प्रतिक्रिया दिन असमर्थता व्यक्त गरे। देउवा पक्षका एक नेताले भने अर्को पक्ष (खाणको निलम्बन र शर्माको बचाउ गर्ने) दुईथरी रबैयाप्रति हाँस्दै टिप्पणी गरे। ‘त्यतिबेला उहाँहरु कहाँ सुशासनको पक्षमा उभिनुभएको थियो र? खाणको विपक्षमा उभिनुभएको मात्रै हो’, उनले भने।

शर्मा पक्राउ परेपछि कोइराला पक्षले सुशासनको पक्षधरको रुपमा आफ्नो निरपेक्ष अडान गुमाएको मात्रै होइन, उनलाई सकेको ‘सहयोग’ पनि गरेका थिए। २६ गते साँझ थुनामुक्त हुँदा शर्माले त्यसरी सहयोग गर्नेहरुको सूची नै प्रस्तुत गरे। जहाँ कोइरालादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम थियो। ‘म कस्टडीमा भएको बेलामा मलाई धेरै मद्दत गर्नुहुने डा शेखर कोइराला, गगन थापाजी, अर्जुननरसिंह केसी दाइहरू लगायत मेरो हृदयको अन्तस्करणबाट मेरो पिताजीको जस्तै… भूमिका निर्वाह गरिदिनुभएको, राष्ट्र नायकको रुपमा आफूलाई उभ्याउनुभएको केपी शर्मा ओली, उहाँ र उहाँको पार्टीको मान्छेलाई म फरक पार्टीको मान्छे भएता पनि धन्यवाद दिन चाहन्छु’, शर्माले भनेका थिए।

साउन १० गते सार्वजनिक केन्द्रीय कार्यसमिति बैठकका निर्णयको एउटा वाक्यमा भनिएको छ- भ्रष्टाचारको कुनै जात, धर्म, लिङ्ग, वर्ण, सम्प्रदाय वा राजनीतिक दल हुँदैन।’ तर खाणको सन्दर्भमा देउवा पक्ष र शर्माको सन्दर्भमा कोइराला पक्षका नेताहरुले व्यक्त गरेको शैलीले प्रष्ट पारेको छ- कसुरको गुट चाहिँ हुन्छ।

Texas International College

Texas International College

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments