Sunday, May 5, 2024
Homeआर्थिकके पुनः नजिकिएका हुन् पूर्वसहकर्मी केपी ओली र माधव नेपाल ?

के पुनः नजिकिएका हुन् पूर्वसहकर्मी केपी ओली र माधव नेपाल ?

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आक्रामक बन्दै गएका छन् । आफ्नै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरेर कांग्रेसलाई सघाएपछि चिढिएका ओली पछिल्ला दिनमा झनै आक्रामक बनेका हुन् । 


भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरण, सुन प्रकरणलगायतमा आफ्नालाई जोगाउने, एमालेलाई फसाउने रणनीति लिएको आरोप ओलीले लगाउँदै आएका छन् । पछिल्ला दिनमा उनले प्रधानमन्त्री दाहाल मत्र होइन, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पनि उछितो काढ्दै आएका छन् । 


सोमबार मात्रै उनले प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपालाई अदालतले नभई वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फुटाएको आरोप लगाए । जनप्रतिनिधिसँगको अन्तक्र्रिया कार्यक्रममा उनले अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य खडा गरेर पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीलाई फुटाएको ओलीको जिकिर थियो । 



‘अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य तयार गरिएको छ, त्यो उचित होइन, ठीक होइन,’ उनले भने, ‘अदालतले ऋषि कट्टेलले त्यही नाममा पहिले नै दर्ता गराइसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको थियो । अर्को नाम लिएर दर्ता गर्न मैले अनेक कोसिस गर्दा पनि प्रचण्ड जान मानेनन् । अदालतले फुटाएको होइन, प्रचण्डले हो ।’



प्रचण्ड अलग भएपछि निर्वाचन आयोगले एमालेलाई तलैसम्म फुटाउने षड्यन्त्रमा माधव नेपाललाई सघाएको उनको आरोप थियो । अध्यक्ष ओलीले भने,‘प्रचण्ड अलग भएपछि निर्वाचन आयोग, सभामुख र माधव नेपालको संयुक्त साँठगाँठबाट एमाले भदौ १० गते फेरि फुटाए, अदालतमा गएर मुद्दा हालेर ल्याउनेहरु २० प्रतिशतमा फुटाउन मिल्ने भन्ने लाज, शरम छोडेर निर्लज्ज भएर पार्टी फुटाए, एमाले फुटाउन अग्नि सापकोटा र निर्वाचन आयोगले सहयोग गरे, माधव नेपाललाई पार्टी तलैसम्म फुटाउने षड्यन्त्रमा निर्वाचन आयोगले पनि सघायो ।’




यसअघि माधव नेपालविरुद्ध पनि यसरी नै विषवमन गर्दै आएका ओली सोमबार प्रतिनिधिसभाअन्तर्गतको एक विषय समितिको बैठकमा नेपालसँगै देखिए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल र ओली सँगसँगै बसेका थिए । उनीहरु सँगै मात्र बसेनन्, प्रसन्न मुद्रामा फोटोपोज पनि दिए । त्यति मात्रै होइन, ओलीले सो बैठकमा माधव नेपालसँगै बसेका तीन तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । सोमबार साँझ ती तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्– आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर । शुभ सन्ध्या !!


लामो समयदेखि नेपालप्रति आक्रामक रहँदै आएका ओलीले ती तस्बिर सेयर गरेपछि विभिन्न अड्कलबाजी हुन थालेको छ । एमाले र एकीकृत समाजवादीको एकता चाहने ती दलका कार्यकर्ताले दुई नेतालाई फेरि मिल्न आग्रह गर्दै विभिन्न प्रतिक्रिया दिएका छन् । 


गत शनिबार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको भन्दै गुनासो गरेका थिए । पार्टीनिकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरेका हुन् । 

संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो।  

उनले भने, ‘ओलीले यो पार्टीको मतलव नै नराख्ने । हुँदाहुँदा हिजोअस्ति त संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे, ६ वटा पार्टी । राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् ।’

अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि नगरेको बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको तर आफूले पार्टीलाई बिजोग बनाएर राष्ट्रपति बन्न नचाहेको बताए। 

नेकपा ब्युँताऊँ भनेर आफूले पठाएको प्रस्तावलाई पनि ओलीले लत्याएको उनले दोहोर्याएका थिए । पछिल्ला दिनमा नेपालले कम्यनिष्ट एकता अपरिहार्य रहेको बताउँदै आएका छन् । अध्यक्ष नेपालले समाजवादी प्रेस संगठनको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो रहेको बताएका थिए । 

सो कार्यक्रममा नेपालले राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखापरेका विचलन र उनीहरूमा पुँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरे । 

पछिल्ला दिनमा आफ्ना पार्टीका नेता तथा कार्यकर्ता धमाधम पुरानै पार्टी एमालेमा फर्किन थालेपछि नेपाल अफ्ट्यारोमा परेका छन् । उनले बारम्बार कम्युनिष्ट एकताको कुरा गर्नुमा पनि त्यही विषय कारक रहेको विश्लेषण हुन थालेको छ । त्यति मात्र होइन, ललितानिवास जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपछि नेपालले कुनै न कुनै बलियो शक्तिको साथको अपेक्षा गरेका छन् । 

एकातिर नेपालले कम्युनिष्ट एकताको कुरा गर्ने, अर्कोतिर ओलीले उनै नेपालसँगको तस्बिरलाई प्राथमिकताका साथ सार्वजनिक गर्नुले कतै उनीहरु पुनर्मिलनतर्फ अगसर भइरहेका त होइनन् ? भन्ने अड्कलबाजी सुरु भएको छ । 

वर्तमान नेपाली राजनीतिमा ओली सबैभन्दा चतुर खेलाडी मानिन्छन् । राजनीतिक लाभका लागि जस्तेसुकै विरोधी शक्तिसँग पनि मिल्न सक्ने उनको खुबी देखिन्छ । पछिल्लोपटक प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा होस् या रवि लामिछानेलाई गृहमन्त्री बनाउँदा होस् उनको सोही खुबीले काम गरेको देखिन्छ । 

देशको वर्तमान परिस्थिति र विभिन्न घटनाक्रमले यी दुई पूर्वसहकर्मीलाई एक ठाउँमा ल्याउने सम्भावना देखिन्छ । प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादीको साथ लिन सकेमा र अझ पार्टी एकता नै हुन सकेमा संसदको पहिलो दल बन्न पाइने लोभ ओलीमा देखिन्छ भने ओलीको आडभरोसा पाएमा ललितानिवास प्रकरणबाट छुटकारा पाइने आशा नेपालमा देखिन्छ । एकअर्काको आवश्यकताको सिद्धान्तअनुसार उनीहरु आपसमा मिल्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।  

  • प्रकाशित मिति : ४ घण्टा अघि


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.6”;
fjs.parentNode.insertBefore(js, fjs);
}
(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments