राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताएका छन् । दलीय राजनीतिमा नलाग्ने भन्दै उनले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताए ।
तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताए ।
‘देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ । विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु,’ राष्ट्रपति पौडेलले भने । सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो सर्त रहेको उल्लेख गरे ।
संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गरे । ‘परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ,’ उनले भने ।
सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरे । व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै राष्ट्रपति पौडेलले पदमा पुग्नेहरुले देशको हितमा काम गर्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको भनाइ राखे । सबै राजनीतिक दल मिलेर एकाआपसमा सहकार्य गरी काम गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले दलहरु मिले मात्रै मुलुक बलियो बन्ने धारणा राखे । ‘दुई ठूला देशका बीचमा रहेको नेपाललाई एकताको बाटोमा हिँडाउनुपर्छ,’ राष्ट्रपतिले भने, ‘सबै दल मिले मात्रै देश बलियो हुन्छ ।’
सो अवसरमा सहरी विकास मन्त्री सीता गुरुङले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उल्लेख गरिन् । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सबै दलको एकताबाट मात्रै विकास सम्भव रहेको उल्लेख गरिन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधनबाट पूर्वाधार विकासमा जोड दिइएको बताए । यो देशमा केही हुन सक्दैन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताउँदै उनले नैराश्यताको फाइदा उठाएर गलत काम गर्नेहरुलाई परास्त गर्नुपर्नेमा जोड दिए ।
काठमाडौ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले समयमा काम नहुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने र प्रकाश पन्थले समृद्ध तनहुँका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको भनाइ राखे ।
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले असमझदारीले मुलुक पछाडि परेकाले सबै दलबीच एकता आवश्यक रहेको धारणा राखे । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले कुशासनले विकास रोकिएको बताए ।
सहरी विकास मन्त्रालयको २३ करोड ६२ लाखको लागतमा दमौली सभागृह निर्माण भएको मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले जानकारी दिए ।
- प्रकाशित मिति : २८ मिनेट अघि
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.6”;
fjs.parentNode.insertBefore(js, fjs);
}
(document, ‘script’, ‘facebook-jssdk’));