नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने दलको नाताले देश संकटमा छ भन्न नसुहाउने टिप्पणी गरेका छन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन् । थापाले देश संकटमा नभइ कांग्रेसको जिम्मामा भएको बताए ।
‘देश संकटमुक्त कहिले हुन्छ ? हाम्रो नेतृत्वमा संविधान बनायौं, हामी सबैभन्दा ठूलो दल भएका छौँ । ३३२ पालिका, सात प्रदेशमा हामी, मुख्यमन्त्री हाम्रो, प्रधानमन्त्री हाम्रो सबै हाम्रो हातमा हुने अनि हामीले देश संकटमा छ भन्ने देश संकटमा छैन, हाम्रो जिम्मामा छ,’ थापाले भने ।
त्यस्तै, उनले संघीयताको संरक्षणका लागि पार्टीले भूमिका खेल्नुपर्ने बताए । कांग्रेसले नै संघीयता संरक्षणको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ ।
‘हामीलाई यो पाँच वर्षमा जनताकै तहबाट संघीयता चाहिन्छ भन्ने अवस्थामा पुर्याउनु छ । हामीले ध्यान दिनु पर्दैन ? हामी नैतिक पक्ष रहेर शासनले पाएको जिम्मेवारी पूरा गरौँ भन्ने कुनै कुराले हामीलाई तलमाथि गर्न सक्दैन । सबै कुराहरूबाट माथि उठ्न सक्ने ताकत नेपाली काङ्ग्रेसभित्रै छ,’ थापाले भने ।
त्यस्तै, उनले शिक्षा विधेयकमार्फत सार्वजनिक शिक्षाको अवस्था सुधारमा लागि काम गर्नुपर्ने पनि बताए ।