Friday, March 29, 2024
Homeराष्ट्रीयविभागदेखि वडासम्मै सीसीटीभी, हाजिरअनुसार तलब

विभागदेखि वडासम्मै सीसीटीभी, हाजिरअनुसार तलब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा कर्मचारीको पारदर्शिता र विभागको निष्पक्ष कामका लागि कडाइ गरिने भएको छ । महानगरका कर्मचारीमा समयमै कार्यालय नआउने, हाजिर नगर्ने र कार्यालय समयभर काम नगर्ने प्रवृत्ति बढ्दै गएपछि कडाइ गरिने भएको हो । 

महानगरले बिहीबार एक सूचना जारी गर्दै कार्यालय समयमै उपस्थित नहुने र हाजिर नगर्ने विभागदेखि वडा तहसम्मकै कर्मचारीको तलब कटौती गर्ने चेतावनी दिइसकेको छ । 

हाजिर हेर्ने वेबसाइटमा कतिपय कर्मचारीले हाजिर नगरेको पाइएको महानगरले जनाएको छ । यसअघि पनि महानगरका केही कर्मचारी समयमै कार्यालय नआउने र हाजिर मात्र गरेर काम नगरी ‘टाप कस्ने’ प्रवृत्ति थियो । 

यस्तो प्रवृत्ति अन्त्य गर्न महानगरका सबै तहमा कार्यरत कर्मचारीको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देशन दिइएको छ । अन्यथा असार महिनाको तलब नहाल्ने महानगरले जनाएको छ । 

महानगरका एक कर्मचारीले काम नगर्ने प्रवृत्ति बढ्दै जाँदा मेयर बालेनले कडाइ गरेको बताए । हाजिर र कार्यालय उपस्थितिको लागि सूचना जारी गरेयता नै केही कर्मचारी मेयरको फन्दामा परिसकेको उनले जानकारी दिए ।

महानगरका सहायक प्रवक्ता महेश काफ्ले कर्मचारीमाथिको कडाइ स्वाभाविक भएको बताउँछन् । “कतिपय कर्मचारी बिहान एक समयमा कार्यालय आएर काम गरेजस्तो देखिने र कार्यालय समयभर नबस्ने भयो । सम्बन्धित विभाग र प्रशासनलाई पनि जानकारी भएन । कर्मचारीको हाजिर र अनुपस्थितिले गर्दा (हाजिर गर्ने) डिभाइस बिग्रेको हो कि मान्छे नै नआएको हो भन्नेबारे दोधार भयो,” उनले भने, “त्यसैले कर्मचारीमाथि कडाइ गरिएको हो । कार्यालयलाई समय नदिने कर्मचारीलाई त्यति धेरै तलब भत्ता दिन सकिँदैन । त्यस्ता कर्मचारीलाई तलब भत्ताको सुविधाबाट हटाउने भनेका हौँ ।” 

काफ्लेले यस्ता कर्मचारीलाई विशेष निगरानी गरिने पनि बताए । “विभागदेखि वडा तहकै कर्मचारी सबैलाई कडाइ गरिन्छ । बेला–बेलामा कर्मचारी हेरफेर पनि हुन्छ,” उनले भने । 

महानगरमा कार्यालय सहयोगीदेखि आठौँ, नवौँ तहका गरी कुल एक हजार ८०० जना कर्मचारी कार्यरत छन् । 

त्यस्तै, महानगरका सबै विभाग र वडा कार्यालयमा सीसीटीभी जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । महानगर अन्तर्गतका विभाग र ३२ वटै वडामा सीसीटीभी जडान गर्ने प्रक्रिया अघि बढेको काफ्लेले जानकारी दिए । 

महानगर मातहतमा राजस्व, प्रशासन, सार्वजनिक निर्माण, सहरी विकास, सामाजिक विकास, कानुन न्याय तथा मानवअधिकार, वित्त, सहकारी, शिक्षा, वातावरण, स्वास्थ्य, सूचना प्रविधि, विपत् व्यवस्थापन, संम्पदा संस्कृति तथा पर्यटन, खरिद योजना तथा अनुगमन गरी १४ वटा विभाग छन् । 

यी विभाग फरक–फरक ठाउँमा छन् । महानगरले आफ्नो कार्यालय बनाएर एकै ठाउँबाट महानगरवासीलाई सेवा सुविधा उपलब्ध गराउन सकिरहेको छैन । 

महानगरको केन्द्रीय कार्यालय तथा प्रमुख–उपप्रमुखको कार्यालय बागदरबारस्थित जेडीए कम्प्लेक्समा छ ।

महानगरकाअनुसार विभाग र वडा कार्यालयको बाहिर सीसीटीभी क्यामेरा जडान गरिए पनि भित्र कार्यकक्षमा जडान गरिएको थिएन । यस पटकदेखि कार्यालयभित्रको सबै कामहरू खिच्ने गरी क्यामेरा जडान गरिने भएको हो । 

“सबै विभाग र वडा कार्यालयहरूमा सीसीटीभी जडानका लागि नयाँ बजेट आउँदैछ । अहिले हामीसँग बजेट छैन । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइसकेपछि जडान गर्छौं,” काफ्लेले भने, “पहिले सडक, सार्वजनिक स्थल धार्मिक सांस्कृतिक सम्पदा नगरीमा सीसीटीभी जडान गरियो । अब सबै विभाग र वडा कार्यालयहरूको सबै कामहरू देख्न सकिने गरी जडान गर्न लागिएको हो ।”

कर्मचारीको हकमा कसैको गुनासो आएको खण्डमा हेरफेर भइरहेको महानगरले जनाएको छ । पछिल्लो समय महानगरमा पारदर्शी रूपमा काम भइरहेको महानगरका कर्मचारीहरू बताउँछन् । 


Sunrise bank


Nepal Investment bank


Sunrise bank


Nepal Investment bank


शुक्रबार, असार ३, २०७९, १९:१५ मा प्रकाशित

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments