<!—->
काठमाडौं– ‘हामी हाम्रो सम्बन्धलाई हिमालय जत्तिकै उचाइ दिने काम गर्नेछौं। यही भावनाका साथ हामी सबै मुद्दाको, चाहे सीमाको वा अरू केही विषय, सबैको समाधान गर्नेछौं।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ हो, यो।
गत जेठमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा जेठ १८ गते आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले सो प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसअघि सीमा विवाद सुल्झाउने विषयमा कुरै सुन्न नचाहने भारतले, प्रधानमन्त्री तहबाटै उक्त व्यक्त गरेपछि नेपालका प्रधानमन्त्री प्रचण्ड उत्साहित भएका थिए। उनको भनाइ थियो, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा सीमा समस्या समाधानबारे बोल्नु निकै महत्त्वपूर्ण हो। मैले प्रधानमन्त्री मोदीजीलाई सीमाको विषय स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न आग्रह गरेँ।’
भारत भ्रमणबाट फर्किएपछि प्रचण्डले पटक–पटक मोदीको उक्त प्रतिबद्धताको चर्चा गर्ने गरेका छन्, जसलाई उनले भारत भ्रमणको एक उपलब्धि जस्तो गरी प्रस्तुत गर्ने गरेका छन्।
मोदीले सीमा समस्या समाधान गर्ने भनेर प्रतिक्रिया व्यक्त गरेको चार महिनामै भारतीय प्रधानमन्त्री मोदीले विवादास्पद भ्रमण गरेका छन्। उनी बिहीबार बिहान कालापानी क्षेत्र पुगेका छन्। हेलिकप्टरमार्फत् बिहान ८:३० मा मोदी नेपाली भूमि गुन्जीनजिकै जोलिङ्काङमा उत्रिएका थिए। त्यसलगत्तै मोदीले त्यहाँस्थित पार्वतीकुण्डमा पूजा गरेका थिए। उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने उक्त क्षेत्रमा मोदी उक्त प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीसँग पुगेका थिए। पार्वतीकुण्डको पूजा गर्दै मोदीले कैलाश पर्वतको दूरदर्शन पनि गरेको उनको ट्विटर हेण्डलबाट सार्वजनिक भएको भिडियोहरुमा देखिन्छ।
उत्तराखंड में पिथौरागढ़ के पवित्र पार्वती कुंड में दर्शन और पूजन से अभिभूत हूं। यहां से आदि कैलाश के दर्शन से भी मन आह्लादित है। प्रकृति की गोद में बसी अध्यात्म और संस्कृति की इस स्थली से अपने देश के सभी परिवारजनों के सुखमय जीवन की कामना की। pic.twitter.com/iIEpO0Cta0
— Narendra Modi (@narendramodi) October 12, 2023
मोदीको सचिवालयले सार्वजनिक गरेको भ्रमणको तालिका अनुसार उनले करिब ९:३० को आसपास नेपाली भूमि गुञ्जीका स्थानीयसँग छलफल गरेका थिए। त्यसका साथै नेपालको नक्सामा समावेश भएको कुटी, नावीका स्थानीयसँग छलफल गर्ने पूर्वनिर्धारित तालिका अनुसार सामान्य छलफल भएको उनको सचिवालय र भारतीय संचारमाध्यमले सार्वजनिक गरेको भिडियो क्लिपहरुमा देखिन्छ।
Uttarakhand’s progress and wellbeing of its citizens are at the core of our government’s mission. Speaking at inauguration and foundation stone laying ceremony of development works in Pithoragarh. https://t.co/JcBRkhMR0M
— Narendra Modi (@narendramodi) October 12, 2023
मोदीले स्थानीयसँग कहाँ बसेर छलफल गरे भन्नेचाँहि नेपाली पक्षले पुष्टि गर्न सकेको छैन, वा खुलाउन चाहेको छैन। बरु समग्र भ्रमणबारे नै औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ। परराष्ट्रका एक अधिकारीले सूचना संकलनको कार्य भइरहेको बताए। छिमेकी राष्ट्रको प्रधानमन्त्रीको भ्रमण रहेकोले सत्यतथ्यमा नपुगी धारणा बनाउन हतार हुने उनको भनाइ छ। ‘हामीले पनि समाचारहरुबाटै थाहा पाएका हौं। हामी आधिकारिक र वास्तविक सत्यतथ्य बुझ्दै छौं। अहिले टिप्पणी गर्नु हतार हुन्छ। हामी आधिकारिक रुपमा पुष्टि गरेर जानकारी गराउँछौं’, उनले भने।
मोदीको भ्रमणको बारेमा आफूहरु जानकार नरहेको बताउँछिन्, दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशी। उनी भन्छिन्, ‘औपचारिक संयन्त्रबाट कुनै जानकारी थिएन। हामीलाई हाम्रै स्रोतहरुले केही जानकारी दिए। तर कुन स्थानमा आउनु भएको, कसकसलाई भेट्नु भएको भन्ने चाहिँ हामी बुझ्दै छौं,’ नेपाल लाइभसँग कुरा गर्दै प्रजिअ जोशीले भनिन्।
मोदीको भ्रमण हुने भएपछि आसपासका अन्य नेपाली गाउँका मानिसहरुलाई आवतजावतमा रोक लगाएको भन्ने गुनासाहरु आएको गृह प्रशासनका अधिकारीहरु बताउँछन्।
Sharing some more glimpses from Parvati Kund. pic.twitter.com/knqEzDpa6U
— Narendra Modi (@narendramodi) October 12, 2023
समग्रमा मोदीले नेपाली भूमिमै टेकेर स्थानीयसँग छलफल गरेको वा भारतीय भूमिमै बोलाएर नेपाली नागरिक भेटेको भए पनि विवादास्पद कदम भएको नेपालका राजनीतिक नेताहरू र कूटनीतिकहरूले प्रतिक्रिया दिएका छन्। तर, विवादास्पद भ्रमण भएको र मोदी पुगेका ठाउँबारे नेपाल सरकारका पक्षबाट केही नखुलाइएका साझा कारण देखाउँदै उनीहरूले नाम खुलाउन भने चाहेनन्। तर सशंकित भएको उनीहरूको प्रतिक्रियाबाट बुझिन्छ।
‘प्रधानमन्त्री प्रचण्ड र मोदीबीच जेठमा एक प्रकारको समझदारी बनेको थियो। सबै समस्या वार्ताबाट हल गर्ने भन्ने थियो। र यसलाई थप नगिजोल्ने भन्ने थियो’, प्रधानमन्त्री प्रचण्ड निकटस्थ एक नेता भन्छन्, ‘तर मोदीले आज जुन प्रकारको भ्रमण गर्नुभयो। यसले भारतको पुरानो रवैयामा कति पनि सुधार नभएको देखिन्छ।’
बिहीबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो विषय उठाएका थिए। आकस्मिक समय लिएर बोलेका उनले मोदी नेपालको भू–भागमा के कति कारणले भ्रमणमा आएका हुन्, त्यसको बारेमा सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका थिए।
‘सरकार र पररष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, छिमेकी राष्ट्रका प्रधानमन्त्रीको यति ठूलो भ्रमणका बारेमा सरकारले सदन र जनतालाई जानकारी गराउनुपर्दैन? यसबारेमा सदनलाई सरकार र परराष्ट्र मन्त्रालयले जानकारी गराउनुपर्यो’, उनले भनेका थिए।
लामिछानेले कुटी, गुञ्जी नेपालको चुच्चे नक्साभित्र पर्ने स्मरण गराए। ‘सदनले पास गरेको नक्साभित्र पर्छ। त्यसकारण त्यो भू–भागभित्र गुञ्जी पनि पर्छ, जहाँ भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभएको छ’, उनको भनाइ थियो।
रास्वपाकै सांसद बिनिता कठायतले पनि सरकारको जवाफ माग गरेकी छन्। ‘बिना कुनै जानकारी यस्तो भ्रमण के का लागि हुँदैछ? सो भ्रमण के कति कारणले भएको हो? भन्ने कुरा पत्ता लगाउन कति समय लाग्ने हो? माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु’, कठायतको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।