नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधवारदेखि शुरु हुने ट्वान्टी–२० शृंखलामा सन्दीप लामिछानेविना खेल्दा असर पर्ने बताएका छन् ।
नेपालले घरेलु मैदानमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको शुरुवात गर्दै छ । आफ्ना महत्वपूर्ण बलर सन्दीपविना नै नेपालले यो शृंखला खेल्न लागेको हो । शृंखलाअगाडि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितले सन्दीप नहुँदा असर गर्ने उल्लेख गर्दै यो शृंखलापछि उनी टोलीमा फर्किने आशा व्यक्त गरे ।
आगामी अक्टोबर ३० देखि घरेलु मैदानमा हुने ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको तयारीस्वरूप नेपालले त्रिदेशीय शृंखला खेल्न लागेको हो । कप्तान रोहितले उक्त छनोटमा सन्दीप फर्किन सक्ने आशा व्यक्त गरे । सन्दीप नहुँदा टोलीलाई केही असर परे पनि टोली चुनौतीका लागि तयार रहेको उनले बताए ।
नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र हङकङले यो त्रिदेशीय शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोट यात्रामा बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ । नेपालले मूलपानी क्रिकेट मैदानमा चिरपरिचित प्रतिद्वन्द्वी युएईविरुद्ध जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।
कप्तान रोहितले शृंखलाको लागि भारतमा राम्रो तयारी भएको उल्लेख गर्दै राम्रो क्रिकेट खेल्नेमा विश्वस्त देखिए । नेपालले भारतमा दुई साता अभ्यास गरेको थियो । यस क्रममा नेपालले ट्वान्टी–२० मा नै केही अभ्यास खेल पनि खेल्यो ।
पछिल्ला समय एसिया कपमा पनि ट्वान्टी–२० फरम्याटमा नै क्रिकेट खेलेको र भारत पनि राम्रो अभ्यास पाएकाले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने रोहितले बताए ।
आगामी कात्तिक १० गतेसम्म घरेलु मैदानमा हुने शृंखलामा १८ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको थियो । नेपालले यो शृंखलाबाट नै आगामी छनोटका लागि राम्रो टोली बनाउने उद्देश्यअनुरूप १८ खेलाडी समावेश गरेको उल्लेख गरेको छ । कप्तान रोहितले घरेलु मैदानमा हुने शृंखलाबाट राम्रो टोली बनाउने उद्देश्यअनुरूप १८ खेलाडी समावेश गरिएको प्रष्ट्याए ।
एसोसिएट राष्ट्रद्वय युएई र नेपाल चिरपरिचित प्रतिद्वन्दी हो । एकदिवसीस क्रिकेट यस वर्ष मात्र यी दुई देशबीच ६ प्रतिस्पर्धा भइसकेको छ । ट्वान्टी–२० मा भने नेपालले सन् २०२२ को फेब्रुअरीपछि युएईसँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो । युएईका कप्तान मोहम्मद वासिमले नेपालविरुद्ध राम्रो क्रिकेट खेल्ने बताएका छन् । उनले नेपाल बलियो टोली रहेपनि यो फरम्याटमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे ।
नेपालले मंगलबार एक कार्यक्रमबीच त्रिदेशीय शृंखलाको ट्रफी सार्वजनिक गरेको थियो । हङकङ भने नेपाल आइनपुगेकाले उक्त ट्रफी सार्वजनिक कार्यक्रममा उपस्थिति भएन । नेपाली टोलीका कप्तान रोहित र युएईका कप्तान वासिमले सो ट्रफी सार्वजनिक गरेका थिए ।
त्यसअघि नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपालीहरूको महान चाडकाबीच क्रिकेट शृंखला राखिए पनि खेलाडीहरूले यसलाई नै उत्सवका रूपमा लिएर खेल्ने बताए । साथै उनले मैदानमा आउन सक्ने दर्शकले टोलीको हौसला बढाउने र अनुपस्थित रहने दर्शकले प्रत्यक्ष प्रसारणमार्फत नै मनोरञ्जन लिने धारणा राखे ।
नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक चार गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ । एकअर्कासँग समान दुई खेल खेलेपछि अंकतालिकाको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । शृंखलाको फाइलन खेल कात्तिक १० गते हुनेछ ।
शृंखलाको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान तथा अन्य खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन् । सबै खेलहरू बिहान ११ बजे हुनेछ ।
रोहितकुमारको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, श्याम ढकाल (मौसम), विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् ।
- प्रकाशित मिति : ८ घण्टा अघि
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.6”;
fjs.parentNode.insertBefore(js, fjs);
}
(document, ‘script’, ‘facebook-jssdk’));