Sunday, March 3, 2024
Homeआर्थिकएनसेल प्रकरणबारे गगन थापा– छानबिन प्रभावित पार्नेहरू विरुद्धको प्रतिरोधलाई एकीकृत बनाऔँ

एनसेल प्रकरणबारे गगन थापा– छानबिन प्रभावित पार्नेहरू विरुद्धको प्रतिरोधलाई एकीकृत बनाऔँ

<!—->

<!—->

काठमाडौं– प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको सेयर खरिद बिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै ठूलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिने भनाइ दोहोर्‍याएका छन्।

बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा साझा गर्दै थापाले यस प्रकरणमा छानबिनका लागि सरकारबाट समिति बनाइएको भए पनि सबै ठिक हुन्छ भन्ने अवस्था नरहेको उल्लेख गरेका छन्। उनले राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाइकन अनियमितताको हिम्मत नआउने तर्क गरेका छन्।

‘जसको आडमा यो (सेयर खरिद बिक्री) भएको छ र जो प्रत्यक्ष परोक्ष संलग्न छन्. अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन्,’ थापाको चिन्ता छ।

Sagarmatha cement
Sagarmatha cement
nimb
nimb

‘अतः उनीहरूलाई असफल बनाउने भनेको यो प्रकरणमा जो जहाँ बसेर प्रतिरोध गरिरहेका छौँ, हाम्रो प्रयासलाई एकीकृत बनाउने हो, जसरी विगतमा प्रतिरोध गरेका थियौँ, कोहीले सरकार भित्रैबाट कोहीले संसदमा, कोहीले सडकबाट’, थापाले लेखेका छन्।

थापाले सरकारद्वारा गठित समिति औपचारिकतामा मात्र सीमित हुन नहुने बताएका छन्। ‘छानबिन समिति बनाउने र सामसुम पार्न नदिन हर क्षण सचेत र चनाखो हुनु जरुरी छ। हरेक पटक अनेकन भ्रष्टाचार र आर्थिक अनियमितताका काण्ड सार्वजनिक हुन्छन्, दबाब हुन्छ, छानबिनको प्रयास हुन्छ अनि विभिन्न दृश्य अदृश्य साँठगाँठमा प्रकरणलाई सामसुम पार्ने प्रयास हुन्छ। यस्तो हुन नदिन निरन्तर खबरदारी गरौँ’, उनले आह्वान गरेका छन्।

त्यस्तै, यो प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ।

‘नेता-नाता, सरकारी-गैरसरकारी कसैले छुट पाउनु हुँदैन। साथै योसँगै कुनै व्यक्ति, संस्था वा समूहको स्वार्थ अनुकूल नीतिगत भ्रष्टाचारका लागि कहीँ कतैबाट ठाउँ बनाउन खोजिएको छ भने त्यसलाई रोक्नुपर्छ’, थापाले लेखेका छन्, ‘अझै सशक्त ढङ्गबाट प्रतिवाद जरुरी छ, नागरिक स्तरबाट, सञ्चार माध्यमबाट, दलहरूभित्रबाट, सरकार भित्रैबाट र सांसदबाट। अतः सबै तिरबाट अझै सङ्गठित र सामूहिक रूपमा प्रतिवाद गरौँ।’

उनले यो प्रकरणसँगै नेपालमा हुने प्रत्यक्ष वैदेशिक लगानी तथा अन्य लगानीको वातावरणलाई प्रभावित पार्ने र आरोप लगाउने विषय उठेको भन्दै ती विषय गम्भीर भएको बताएका छन्। यस सन्दर्भमा नेपाल सरकारले प्रस्ट गर्नुपर्छ, गराउनुपर्छ भन्ने उनको धारणा छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments