Monday, July 4, 2022
Homeराष्ट्रीयगुहार, मेयर बालेन, गुहार !

गुहार, मेयर बालेन, गुहार !

स्थान र आकारका हिसाबले कान्तिपुरलाई महानगर भनिए पनि यो खासै ठूलो नगर भएको छैन। समयसँगै कान्तिपुर महानगर बढी नै असजिलो र असरल्ल पर्दै गएको छ। यसका गल्ली र चोकहरुमा अस्तब्यस्तता बढदै गएको छ। जनसंख्याको चाप बढेको छ। शुद्ध हावापानी र सर–सफाइका समस्या चुलिँदैछन्। 

जुन हिसाबले कान्तिपुर महानगरको विस्तार भइरहेको छ त्यसको गतिलाई सन्तुलित हिसाबले अघि बढाउनु जरुरी छ। कान्तिपुर शहरको भविष्यका लागि उप–नगर अथवा सहायक नगरहरुको ठूलो आवश्यकता छ। अहिलेका लागि त्यो स्पेस उपलब्ध छैन। 

देश संघीय संरचनामा गइसकेको छ। योसँगै कान्तिपुर महानगर वरपरका दर्जनौं शहरी क्षेत्रलाई नगरपालिकाका रुपमा खडा गरिएका छन्। यी स्वायत्त नगरपालिकाहरु कान्तिपुर महानगरपालिकाको सहयोगी इकाइ हुन् कि स्वतन्त्र निकाय हुन्? छुट्टिन सकेको छैन। च्याउझैं उमारिएका नगरपालिका र कान्तिपुर, भक्तपुर र ललितपुर महानगरका बीच सुमधुर सम्बन्धको विकास गर्न सकिने सम्भावनाको खोजी भएको छैन। 

उपत्यकामा अहिले जति पनि नगरपालिकाहरु स्थापना गरिएका छन् ती जनताको सुविधाका लागिभन्दा पनि जग्गा दलाल र अरु प्रकारका बिचौलियाहरुको स्वार्थका लागि स्थापना गरिएजस्ता देखिन्छन्। 

उपत्यकाका पाखा–पखेरा र खेतीयोग्य जमिनहरुको बिनास गरेर, सुविधाजनक बाटो, पानी, बिजुली, टेलिफोनजस्ता आवश्यकता पूरा नगरी जस्तो प्रदूषित शहरीकरण गर्न खोजिएको छ त्यो कान्तिपुर उपत्यकाको सभ्यता विपरीत छ। 

बागमती, बिष्णुमती, रुद्रमती, इच्छामती, मनहरा, हनुमन्ते लगायत उपत्यकाका नदी-नालाहरु प्रदूषित छन्। एसियाली विकास बैंकको सहयोगमा बागमती नदी सुधारको काम कछुवाको गतिमा चलेको छ। नेपाली जनताको आगामी पुस्ताले पवित्र बागमती नदीलाई ‘नाला’ को रुपमा पहिल्याउने अवस्था आउने जोखिमतिर कसैको ध्यान गएको देखिँदैन।

कान्तिपुर महानगरका छिमेकमा रहेका ललितपुर र भक्तपुर कान्तिपुर जत्तिकै स्वतन्त्र र स्वायत्त महानगर हुन्। इतिहासको महत्वपूर्ण कालखण्डमा पनि ललितपुर र भक्तपुर कान्तिपुर जस्तै स्वतन्त्र, सार्वभौम र शक्तिशाली राज्य थिए। 

मल्ल राजाहरुको राज्यकालमा भक्तपुर र ललितपुरको कान्तिपुरसँग जोडदार आर्थिक प्रतिस्पर्धा हुन्थ्यो। यी दुई महानगर कहिल्यै पनि कान्तिपुरको सहायक नगर रहेनन्। रोचक कुरा के भने, राज्य तीन वटा भए पनि राज्य चलाउने तीन वटै राजा मल्ल राजवंशका सदस्यहरु हुन्थे। तीन वटा राजाबीचको सम्बन्धमा प्रशस्त कटुता थियो। त्यो एउटा जमाना थियो। 

आफूलाई बालेनको समर्थक बताउने भीडले अहिले सामान्य सुझावमा समेत जसरी नैतिक आक्रमण गरिरहेका छन्, भोलि रचनात्मक सुझाव दिनेलाई नै कट्टर दुश्मन करार गरेर भौतिक आक्रमण गर्दैनन् कसरी भन्नु। त्यो बेला गुहार माग्नुपर्ने उनै बालेनसँगै त होला- गुहार, बालेन गुहार! भन्दै।

मल्ल राजाहरुको चरित्र थरीथरीको हुन्थ्यो। कोही जनताको धुरीबाट धुवाँ आएको नदेखेसम्म खाना खाँदैनथे। राज्यमा बस्ने कोही पनि भोको नरहोस् भन्ने चाहना हुन्थ्यो राजाहरुको। 

तत्कालीन राजाहरु आफ्नो देशका जनताको वास्तविक आर्थिक अवस्था बुझ्न भेष बदलेर राति-राति देश दर्शनका लागि दरबारबाट बाहिर निस्किने गरेको विवरण लेखिएको छ बंशावलीहरुमा। 

यसबाहेक, तत्कालीन राजाहरुले कला, साहित्य र संस्कृतिको विकासमा ध्यान दिने गर्थे। यस्ता कार्यमा कुन राजा अगाडि थिए र कुन पछाडि भन्ने थिएन। 

भक्तपुरका राजा भूपतीन्द्र मल्ल, ललितपुरका राजा सिद्धिनरसिंह मल्ल, कान्तिपुरका राजा प्रताप मल्ललाई इतिहासले विशेष सम्झना गरेको छ। तर यी बाहेक अरु राजाहरुमा पनि सांस्कृतिक सक्रियता थियो। 

राजा प्रताप मल्लले पुत्रशोकमा परेकी आफ्नी पटरानीको मन बहलाउन रानी पोखरी खनाएका थिए। पोखरीको दक्षिणी किनारामा उनले हात्तीमाथि सवार रहेको आफू, रानी र पुत्रको प्रतिमा स्थापित गरेका थिए। राजा प्रतापकै शासनकालमा हनुमानढोकामा सोह्र भाषाको शिलालेख राखिएको थियो।

कान्तिपुर, भक्तपुर र ललितपुर, तीन शहरका मल्ल राजाहरुले गरेका विकास निर्माणका कतिपय काम अहिले पनि अमर छन्। नगरमा बनेका फराकिला सडकहरु, मन्दिरहरु, ठूलठूला घण्टहरु, पाँचतलादेखि ९ तलासम्मका दरबारहरु!

कान्तिपुर उपत्यकाको समस्या २००७ सालमा राणा शासनको अन्त्यपछि सुरु भएको हो। २००७ सालसम्म राणा तीन सरकारहरु कान्तिपुर उपत्यकालाई सिंगार्न लागेका थिए। त्यसैले उनीहरुले फर्पिङ बनाए। सुन्दरीजल बनाए। दरबारहरु खडा गरे। खेतीयोग्य फाँटहरुको जगेर्ना गरे। 

राणा शासनको अन्त्यपछि खडा भएका सरकारहरु राजनीतिक कार्यसूचीमा नै अल्मलिए। उनीहरुले कान्तिपुर उपत्यकाका लागि सोच्ने मौका नै पाएनन्। यही बिडम्वनामा कान्तिपुर धुकचुक-धुकचुक चलिरहेको छ।

अहिले कान्तिपुर महानगरका जनताले नयाँ नेतृत्वको चयन गरेका छन्। भक्तपुर र ललितपुरमा स्थापित नीति र नेतृत्वकै वर्चस्व रह्यो। काठमाडौँ महानगरको मेयरमा निर्वाचित हुनु अगाडि नै बालेन भक्तपुर पुगेर त्यहाँका मेयरको कामको प्रशंसा गरेका थिए। ललितपुरका मेयरलाई सार्वजनिक कार्यक्रममै गुरु मानेका थिए।

त्यसैले अहिले यी तीन नगरका तीन नेतृत्वको बीचमा पक्कै मल्लकालीन समयमा जस्तो कटुता नहोला।

स्थानीय निर्वाचनको समाप्तिसँगै कान्तिपुर महानगरबासीमाझ मात्रै हैन नेपालको सीमा बाहिर पुगेका नेपालीमाझ पनि बालेनले अब चमत्कार गर्ने आश गरेका छन्। परिवेश, स्रोत र साधनका हिसाबले ती सबै आशाको परिपूर्ति सम्भव देखिँदैन। बालेन मेयरको कुर्सीमा बसेको छोटो समय भए पनि फोहोर समस्या समाधानको सहमतिसम्म पुग्नका लागि भएको सकसले उनले पक्कै यो बुझिसके होलान्।  

कान्तिपुर महानगरमा नयाँ नेतृत्वको विजयपछि पनि निर्वाचनको समयमा मतदाता प्रभावित गर्न सुरु गरिएका क्रोध र हिंसा जगाउने गाली-गलोज र विरोधी विरुद्धका नकारात्मक अभिव्यक्तिहरु जारी नै छन्। 

फोहोर समाधानका लागि बसेको बैठकमा नियाउरो मुहारका साथ टेबलमै टाउको ठोक्काउँलाझैं गरी देखिएको बालेनको भावले भोलिका दिन कति चुनौतीपूर्ण छ अनि ती चुनौती के-के हुन् भन्ने बुझेकै देखियो बालेनले।

तर, उनका समर्थक हुँ भन्नेका अभिव्यक्तिहरु हेर्दा बालेनका विरोधीहरु उनीसामु काठमाडौँको समस्या औंल्याउनेहरु नै हुन् भन्नेझैँ देखिन्छ। यो चाहिँ दु:खलाग्दो पक्ष हो। 

यस्तो अभिव्यक्तिको विस्तारले कान्तिपुर उपत्यकाको मात्रै होइन, पूरै देशको सद्भाव, संस्कृति र संस्कारको सर्वनाश मात्र गर्नेछ। असामाजिक र फोहोरी अभिव्यक्तिले सामाजिक सञ्जाल ढाक्नु पक्कै नयाँ नेतृत्वको समर्थक सुहाउँदो व्यवहार हैन नै।

यो प्राचीनतम उपत्यकाको शान्त वातावरणलाई सञ्जालमार्फत प्रतिदिन खलबल्याउने व्यवहार राम्रो संकेत होइन। 

महानगरका नवनिर्वाचित मेयर बालेनले यो संकेतको अर्थ पक्कै बुझेका होलान्। उनको नाममा, उनको प्रशंसामा, उनको स्तुतिमा फैलिएका असामाजिक र अराजक गतिविधि रोक्न अब उनीसँगै गुहार माग्नुको अर्को विकल्प पनि देखिँदैन। 

आफूलाई बालेनको समर्थक बताउने भीडले अहिले सामान्य सुझावमा समेत जसरी नैतिक आक्रमण गरिरहेका छन्, भोलि रचनात्मक सुझाव दिनेलाई नै कट्टर दुश्मन करार गरेर भौतिक आक्रमण गर्दैनन् कसरी भन्नु। 

त्यो बेला गुहार माग्नुपर्ने उनै बालेनसँगै त होला- गुहार, बालेन गुहार! भन्दै।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window, document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘345401443161992’);
fbq(‘track’, ‘PageView’);

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments