Thursday, April 25, 2024
Homeराष्ट्रीय‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को नारासहित मेयर बालेन्द्रको पहिलो नीति तथा कार्यक्रम...

‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को नारासहित मेयर बालेन्द्रको पहिलो नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

उनले आफ्नो नीति तथा कार्यक्रममा चुनावअघि गरेका प्रतिवद्धताहरुलाई स्थान दिएका छन् भने अन्य दल र उपमेयर सुनिता डंगोलका योजनाहरूलाई पनि समेटेका छन् ।

‘सांस्कृतिक सहर समृद्ध महानगर’ को नारा महानगरको नीति कार्यक्रममा अघि सारिएको छ । काठमाडौंको फोहोर व्यवस्थापन नै महानगरको प्रस्थानविन्दू बनेको नीति कार्यक्रममा उल्लेख छ । संस्कृति र सम्पदाको जगेर्नालाई नीति कार्यक्रमले जोड दिएको छ । मेयर बालेन्द्रबाट अपेक्षा गरिएका नवीनतम खालका ‘गेमचेञ्जर’ कार्यक्रमहरू भने नीति कार्यक्रममा भेटिँदैनन् ।

‘सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम प्रयोग गर्न अनिवार्य छ,’ नीति कार्यक्रममा भनिएको छ, ‘स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी काठमाडौँलाई बस्न योग्य सहर बनाउने हाम्रो ध्येय रहेको छ ।’

मेयर साहले नीति कार्यक्रमका पाँच वटा रणनीति र उद्देश्य रहेको प्रस्ट पारेका छन्, जुन यस प्रकार छन्:

१.काठमाडौँको संस्कृति र सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने,

२.आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गरी सहरलाई जीवन्त बनाउने,

३.सांस्कृतिक पर्यटन, नव प्रवर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम सञ्चालन गर्ने,

४.स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने,

५. काठमाडौँलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्ने

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरू रहेको समिति गठन गरी महानगर शिक्षा सुधार योजना तर्जुमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरूको आम्दानीको निश्चित प्रतिशत महानगर शिक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाई सो कोषबाट विपन्न, अनाथ तथा असहाय बालबालिकाको शिक्षाको प्रबन्ध गर्न आवश्यक व्यवस्था मिलाइने भनिएको छ ।

निजी स्तरमा सञ्चालित शैक्षिक परामर्श केन्द्र, कोचिङ सेन्टर, तालिम केन्द्र लगायतका संस्थाहरूको अभिलेखीकरण गरी नियमन गर्ने उल्लेख छ ।

महानगरपालिकामा कर तिरेका करदाताहरूको स्वास्थ्य बिमा गर्न आवश्यक प्रबन्ध मिलाइने घोषणा गरिएको छ । बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने मेयर बालेन्द्रले बताएका छन् ।

एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ती, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरूको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण सङ्कलन गरिने भएको छ । हाल सञ्चालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरी निरन्तरता दिइने तथा यसका लागि आवश्यक उपकरण तथा जनशक्तिको उचित व्यवस्था मिलाइने भनिएको छ ।

काठमाडौँ महानगर क्षेत्रभित्र रहेका बसस्टपहरुमा यात्रीहरूको विश्रामका लागि परम्परागत शैलीको फल्चा निर्माण गर्न इच्छुक संघसंस्थाहरुलाई प्राविधिक सहयोग उपलब्ध गराइने भएको छ । महानगर आफैँले पनि प्राथमिकतामा राखी यस्ता फल्चाहरुको निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बालेन्द्रले चुनावअघिदेखि भन्दै आएको रिभर्स बोरिङको सोचलाई नीति कार्यक्रममा समेटिएको छ ।

‘महानगर क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संघसंस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने र बोरिङ्ग गरी आएको स्थानमा रिभर्स बोरिङ्ग गर्ने नीति लिइनेछ,’ नीति कार्यक्रममा भनिएको छ ।

बागमती र विष्णुमती नदीको किनारमा ढल प्रशोधन केन्द्र स्थापना गर्न अध्ययन र परामर्श गरी जग्गा प्राप्तिको कार्य प्रारम्भ गरिने भनिएको छ ।

उपमेयर सुनिता डंगोलले चुनावी अभियानमा भनेको एम्पी थिएटरको कुरालाई बालेन्द्रले नीति तथा कार्यक्रममा समेटेका छन् ।

‘कला क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि काठमाडौँ महानगर क्षेत्र भित्रका डबलीहरूको पुनर्स्थापना र एम्पी थिएटर निर्माण गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक महत्त्वका मठ, मन्दिर, बहाल, पोखरी, हिति, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने बताइएको छ । ऐतिहासिक महत्त्वका बहास्, बहीस्, चोक लगायतका स्थानहरूलाई ऐतिहासिक परिचय खुल्ने गरी नेपाल भाषामा मौलिक नामकरण गर्ने नीति लिइनेछ नीति कार्यक्रममा उल्लेख छ ।

फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न श्रोतमा नै वर्गीकरण गर्ने व्यवस्था मिलाइने तथा कुहिने फोहरलाई घरमै मल बनाउने महानगरबासीहरुका लागि सोही प्रयोजनमा लाग्ने शुल्कमा विशेष सहुलियत दिने प्रबन्ध मिलाइने उल्लेख छ ।

हरेक महिनाको पहिलो आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम मार्फत प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने बालेन्द्रले बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments