Wednesday, April 24, 2024
Homeराष्ट्रीयकाठमाडौँको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिक प्राथमिकतामा – Kayakairan

काठमाडौँको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिक प्राथमिकतामा – Kayakairan

काठमाडौँ, ५ असार ।

काठमाडौँ महानगरपालिकाले ज्येष्ठ अशक्त नागरिकको भत्ता दोब्बर पार्ने तथा औषधोपचार निःशुल्क उपलब्ध गराउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाहले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको हो ।

नीति कार्यक्रममा महानगरपालिकामा रहेका पूर्ण अशक्त (क) वर्गका नागरिकहरूलाई साविकमा दिइँदै आइरहेको वार्षिक तीन हजार रुपैयाँ भत्तालाई बढाएर ६ हजार पुर्‍याइएको छ।

त्यसैगरी यही असार मसान्तसम्म ७५ वर्ष उमेर पूरा भएका नागरिकलाई मासिक एक हजारका दरले वार्षिक १२ हजार उपलब्ध गराइनेछ । उक्त महानगर विशेष भत्ता महानगरपालिकाले चालू आर्थिक वर्षमा पनि दिइरहेको छ ।

७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिकका घरमा गई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने पनि उल्लेख छ । ७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिलाई महानगरपालिकाका वडा कार्यालयहरूसँग समन्वय गरी सरकारले तोकेका औषधिहरू निःशुल्क उपल्ब्ध गराउन आवश्यक समन्वय गरिने पनि नीति कार्यक्रममा भनिएको छ।

ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न वडास्तरमा ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरिने तथा वडामा रहेका ज्येष्ठ नागरिक मिलन केन्द्रहरूसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिने पनि महानगरको नीत तथा कार्यक्रम रहेको छ ।
ज्येष्ठ नागरिकमा देखापर्ने विशेष खालका रोगहरू जस्तै अल्जाइमर्स, पार्किन्सन्स, आदिको उपचार गर्ने अस्पतालहरूसँग सहकार्य गरी ज्येष्ठ नागरिक उपचार कक्ष स्थापना सञ्चालनमा ल्याइने योजना पनि महानगरको नीति तथा कार्यक्रममा समेटिएको छ ।

अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरूका लागि सीप विकास तथा अपाङ्गता भएका अभिभावकहरूका लागि स्याहार सीपका तालिम कार्यक्रम सञ्चालन गरिने एवम् अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहायक सामग्री निःशुल्क वितरण गरिने पनि कार्यक्रममा उल्लेख छ।

महानगर क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूमा अपाङ्गमैत्री एटीएम मेसिन सञ्चालन गर्न पनि आवश्यक समन्वय गरिने कार्यक्रममा जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments