Friday, April 26, 2024
Homeराष्ट्रीयकाठमाडौं महानगर : वाचाअनुसारको नीति-कार्यक्रम

काठमाडौं महानगर : वाचाअनुसारको नीति-कार्यक्रम

५ असार,काठमाडौं । आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम ल्याए । बुधबार राष्ट्रिय सभागृहमा ११औं नगरसभाको बैठकमा नीति तथा कार्यक्रमले उनले चुनावकै बेला गरेका वाचाहरुलाई पछ्याउँदै  नीति तथा कार्यक्रम ल्याएका हुन् ।

बानेनले ल्याएको नीति तथा कार्यक्रममा त्यस्ता धेरै घोषणाहरु छन्, जो चुनाव ताका बालेन र अन्य राजनीतिक दलहरुले आफ्नो घोषणापत्रभित्र समेटेका थिए । १४ जेठमा निर्वाचित भएका बालेनले छोटा अवधिमा चुनावी घोषणापत्रका वाचा र विभिन्न विज्ञ र सरोकारवालहरुको सुझावलाई समेटेर कार्यक्रम तयार गरेका छन् । उनले वडाध्यक्षहरुबाट समेत सहयोग लिनसक्ने गरी नीति तथा कार्यक्रममा अन्य दलका कार्यक्रमलाई पनि स्थान दिएका छन् ।

‘काठमाडौंको इतिहास, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नु हाम्रो पहिलो कर्तव्य हुन आएको छ, संस्कृतिमा आधारित पर्यटन काठमाडौंको सम्भावनाको पहिलो क्षेत्र हो,’ नीति तथा कार्यक्रममा उनले भनेका छन्,’ सुरक्षित सहरीकरण र सहरी सुव्यवस्था काठमाडौंको लागि अर्को सुधार गर्नुपर्ने क्षेत्र देखिएको छ ।’

नीति तथा कार्यक्रममा काठमाडौंको फोहर व्यवस्थापनको दीगो र वैज्ञानिक व्यवस्थापन प्रस्थान विन्दु बनेको भन्दै सरल र सहज तरिकाको सेवा प्रवाहका लागि सूचना गर्ने र  प्रविधिको उच्चतम प्रयोग, स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी काठमाडौंलाई बस्न योग्य सहर बनाउने ध्येयमा महानगर अघि बढेको उल्लेख छ ।

आन्तरिक सुशासन र सवल प्रशासनतर्फ नीति तथा कार्यक्रम निर्देशित रहेको भन्दै मेयर बालेनले जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरेका छन् ।

‘शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपण, मानव अधिकार प्रवर्द्धन जस्ता विषयगत क्षेत्रहरुका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु,’ उनले भनेका छन् । यिनै विषयहरु नै बालेनका घोषणापत्रका सार थिए ।

घोषणापत्रको ऐना

बालेनले आफ्नो घोषणा पत्रअनुसार नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पुरा गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने कुरा नीति तथा कार्यक्रमै समेटेर अघि बढ्ने संकेत गरेका छन् ।

काठमाडौं महानगरभित्र रहेका ‘बस स्टप’हरुमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने, नीति तथा कार्यक्रममा रहेका एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाउने लगायताका कार्यक्रम पनि उनका चुनावी वाचा हुन् ।

नीति कार्यक्रमभित्र अटाएको ७० वर्ष नाघेका नागरिकहरुको घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारले तोकेका औषधिहरु निःशुल्क उपल्ब्ध गराउन आवश्यक समन्वय गर्ने कार्यक्रम पनि बालेको घोषणपत्रमै थियो ।

सामुदायिक विद्यालयहरुको शिक्षकहरुलाई प्रविधिमैत्री सीप, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाई आदान प्रदानका गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा आएको छ ।

महानगर क्षेत्रभित्रका बिग्रेका ढल, बाटो थप क्षति हुन नदिन तथा तत्काल मर्मत सम्भारका लागि आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्तिसहितको सञ्चालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गर्ने नीति कार्यक्रममा उल्लेख गरेका छन् । घोषणापत्रमा समावेश भएको यो योजना बालेनले पहिलो कार्यपालिका बैठकबाटै निर्णय गराएर सुरुवात गरेका थिए ।

बालेनले महानगर क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संघसंस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने नीति पनि ल्याएका छन् । बोरिङ्ग गरी आएको स्थानमा रिभर्स बोरिङ्ग गर्ने कुरा उनले चुनावी दौरानमै चर्चा गरेका थिए ।

काठमाडौंमा हुने जात्रा, पर्वहरुलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने बुँदा नीति तथा कार्यक्रममा छ । ‘इन्द्रजात्राका अवसरमा महानगरपलिकासँग भगिनी सम्बन्ध रहेका अन्तर्राष्ट्रिय सहरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुलाई आमन्त्रण गरी महानगरपालिकाको ऐतहासिक इन्द्रजात्रालाई विश्वस्तरमा पहिचान गराउने कार्यलाई निरन्तरता दिइनेछ,’  नीति तथा कार्यक्रममा भनिएको छ ।

फाहेार व्यवस्थापनलाई पनि उनले वैज्ञानिक बउने अघि अघि बढिहाल्ने संकेत गरेका छन् । फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमा नै वर्गीकरण गर्ने व्यवस्था मिलाइने र कुहिने फोहरलाई घरमै मल बनाउने महानगरबासीहरुका लागि सोही प्रयोजनमा लाग्ने शुल्कमा विशेष सहुलियत दिने घोषणा नीति तथा कार्यक्रमले गरेको छ ।

महानगरपालिकाका सबै कार्यालयमा सीसीटिभी जडान गरी  प्रत्यक्ष्य निगरानी  गर्ने,  हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रममार्फत प्रत्यक्ष सम्वाद कार्यक्रम गर्ने  कार्यक्रम पनि उनका घोषणा पत्रलाई आधार बनाएर आएका हुन् ।

निजी क्षेत्र र अन्य नगरपालिका समेतको लगानीमा उपत्यकाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारी साधानमा  जीपीएस ट्र्याकिङसहितको सिसिटिभी जडान गर्ने कार्यक्रम पनि आएको छ ।

यात्रुहरुलाई विद्युतीय माध्यमबाट सवारी भाडा तिर्ने व्यवस्थाका लागि सहजीकरण गर्ने र सार्वजनिक तथा निजी सवारी साधनको चापलाई व्यवस्थित गर्न  बहुतले पार्किङ  निर्माणका लागि निजी क्षेत्रलाई सहुलियत प्रदान गर्ने कार्यक्रम पनि  बालेनको घोषणापत्रमा आधारित हो ।

साहको घोषणा पत्रमा भनिएको जस्तै महानगरपालिकाको सेवा क्रमशः होम डेलीभरी सरकारको अवधारणा अनुरुप विस्तार गर्दै लगिने समेत उल्लेख छ ।

महानगरले विभिन्न राजनीतिक दलको चुनावमा गरेका राम्रा वाचाहरुलाई पनि नीति तथा कार्यक्रममा समेटेको  छ। नेकपा एमालेले महानगरको प्रतिवद्धता पत्रमा सार्वजनिक गरेको सार्वजनिक जग्गाको संरक्षण र पार्क निर्माणलाई पनि नीति तथा कार्यक्रममा समावेश छ ।

एमालेको रिचार्ज काठमाडौैं नाराको पुनर्भरण योजना कार्यक्रममा आएको छ । महानगरले ल्याएको नीति कार्यक्रममा एमालेको प्रतिवद्धता पत्रमा लेखेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम समावेश गरेको छ ।

एमालेले प्रतिवद्धता पत्रमा उल्लेख गरेको फोहोरमैला व्यवस्थापनको ‘वेष्ट टु इनर्जी’लाई महानगरको नीति तथा कार्यक्रममा प्राथमिकताको साथ राखेको छ । यस्तै नेपाली कांग्रेसको सात संकल्प अनुसारका थुप्रै नीति र कार्यक्रमले पनि बजेटमा स्थान पाएका छन् ।

राम्रा कार्यक्रमलाई निरन्तरता

बालेनले महानगरको यसअघिको नेतृत्वले अघि सारेका कितपय सकारात्मक कार्यक्रमलाई निरन्तरता पनि दिएका छन् । यसअघिका मेयर विद्यासुन्दर शाक्यले गलत तरिकाले अघि बढाएका र रोकेर राखेका कतपिय कार्यक्रमलाई पनि बालेनले अघि बढाउन खोजेका छन् ।

काठमाडौं महानगरपालिका यस अगाडिको कार्यकालमै लयाएको  महानगर उज्यालो कार्यक्रमलाई यो वर्षको कार्यक्रममा पनि निरन्तरता दिएको छ । यस्तै ७५ वर्ष उमेर पुरा भएका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई मासिक १ हजारका दरले वाषिर्क १२ हजार उपलब्ध गराउँदै आएको महानगर विशेष भत्तालाई निरन्तरता दिने भएको छ ।

नीति कार्यक्रमका अनुसार   महानगरपालिका क्षेत्रको अमूर्त सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान गरी आएका जात्रा, पर्ब, गुठीका कार्यक्रमहरु निरन्तर हुनेछन् । महानगर दिवसका अबसरमा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई प्रदान गरिने पदक, सम्मान र पुरस्कारलाई निरन्तर बाँडिने भएको छ ।

महानगरले गर्दै आएको  छाडा, सामुदायिक, घरपालुवा, रोगी, घाइते पशुपन्छीहरुलाई उपचारले निरन्तरता पाउने भएको छ । यसअगाडि अलपत्र परेको स्थानीय तहसँगको सहकार्यमा कान्जी हाउस निर्माण गरी छाडा तथा सामुदायिक पशुहरुको व्यवस्थापन गर्ने कार्यले यो पटक पनि स्थान पाएको छ ।

महानगरको नीति तथा कार्यक्रममा महानगरको मुख्यालय बागदरबारलाई प्रवलीकरण गर्ने उल्लेख छ । यसअघिका मेयर शाक्य त्यसलाई भत्काएर आधुनिक भवन बनाउने पक्ष्मा थिए । तर, अदालतले रोकेपछि बागदरबार त्यतिकै अलपत्र छ ।

त्यसैगरी मेयर साहले कर्मचारीका लागि साना तथा हलुका सवारी सुविधा पनि कार्यसम्पादनको आधारमा मात्रै दिने नीति घोषणा गरेका छन् ।

अनेकन लोकप्रिय कार्यक्रम

नीति तथा कार्यक्रमले महानगर शिक्षा सुधार योजना घोषणा गरेको छ ।  स्थानीय पाठ्यक्रमको निरन्तर पठनपाठन गर्दै ११ वटा प्राविधिक विषयको अध्यापन भइरहेकोमा २ वटा थप गर्ने लगायत विषय पनि नीति तथा कार्यक्रममा छन् । यस्तै वडास्तरीय सामुदायिक सिकाइ केन्द्र स्थापना र सञ्चालन, विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच, विद्यालयहरुमा अग्नि नियन्त्रण उपकरण जडानलगायत कार्यक्रम छन् । दरबार हाइस्कुललाई राष्ट्रिय स्तरको नमूना विद्यालय बनाउने नीतिमा उल्लेख छ ।

वडा क्लिनिकहरुको स्तरउन्नति गरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने, करदाताहरुलाई स्वास्थ्य बीमाका लागि महानगरले ५० प्रतिशत अनुदान दिने, विपन्नलाई निःशुल्क शैयाको प्रबन्ध गर्ने, आयुर्वेद पद्धतिलाई प्रवर्द्धन गर्ने लगायत नीति पनि छन् । नागरिक आरोग्यता प्रवर्छन गर्न आहार, विहार, ध्यान, योग, प्राणायाम आदि बारे सचेतना फैल्याउने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, एक विद्यालय एक नर्स र स्कुल सोसियल वर्कर कार्यक्रम  पनि आएका छन् ।

सडक, ढल, खानेपानीका पाइप लाइन, सडक, बत्ती टेलिफोनलगायत भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार पार्ने नीतिलाई पूर्वाधार विकास नीतिमा राखिएको छ । पैदल मार्गको स्तरोन्नति गर्ने, सामुदायिक विद्यालय, सार्वजनिक संस्था तथा सार्वजनिक शौचालयहरुको स्तरोन्नति गरी अपाङ्ग तथा लैङ्गकिमैत्री बनाइने कार्यक्रम पनि छ । मेयर उज्यालो कार्यक्रमलाई निरन्तरता दिने नीति पनि महानगरको छ ।

सम्पदा तथा पर्यटन क्षेत्रअन्तर्गतका बौद्ध र स्वयम्भू स्तुपको व्यवस्थापन महानगरअन्तर्गत ल्याउन प्रयास गरिनेलगायतका बुँदा छन् । ‘जात्रा, पर्व, मेला, पूजा, परम्परागत जीवनशैली, सांस्कृतिक सम्पदाको परिचयात्मक विवरण समेटेर सांस्कृतिक प्रोफाइल तयार पारिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर, हिति, पोखरी, बहाल, बहिल आदिको संरक्षण गर्ने, जात्रा पर्व सञ्चालन जस्ता अमूर्त सम्पदाको संरक्षणमा गुठी कार्यक्रमलाई निरन्तरता दिने योजना पनि छ । हाँडीगाउँको पुनरुत्थान गर्दैयसै बर्षदेखि होमस्टे सञ्चालन गर्ने  योजना पनि घोषणा भएको छ।

फोहोरको उत्पादन कम गर्ने, फोहोर संकलन, ढुवानी तथा अन्तिम व्यवस्थापनलाई सहज बनाउने, प्लाष्टिक झोला निषेध गर्ने, कागज तथा कपडाका झोला प्रवर्धन गर्ने, पार्क निर्माण गर्ने हरियाली बढाउने नीतिमा उल्लेख छ । अब सर्वोच्च अदालतका निर्देशनात्मक आदेशलाई कानून बनाएर कार्यान्वयन गर्ने, सतप्रतिशत जमिन घरले नओगटेका घरमा एक घर एक रुख नीतिअनुरुप कार्यक्रम सञ्चालन गरिनेछ ।

कर्मचारीको कार्यव्यवहार जनमैत्री, सुशासनयुक्त तथा पारदर्शी बनाउने, संगठन संरचना र दरबन्दी सम्बन्धी कार्यविवरण कार्यान्वयन गर्ने, नतिजामा आधारित कार्यसम्पादन र प्रोत्साहन प्रणाली अबलम्बन गर्ने नीतिलाई संस्थागत विकास तथा सुशासन सम्बन्धी नीतिमा समेटिएको छ ।

नीतिअनुसार अर्वान सेक्युरिटी सिस्टमका लागि नेपाल प्रहरीसँग सहकार्य हुनेछ । ई-लाइव्रेरी सञ्चालन गर्ने, आकाशे पुलमा मानिसको आवतजावत देखिने बनाउन खुल्ला बार लगाउने, १ वर्षभित्र महानगरको पहिलो आवधिक योजना (२०७९ -२०८४) तर्जुमा गरी कार्यान्वयनमा ल्याउने नीति सुशासन क्षेत्रमा समेटिएको छ ।

राजस्व प्रशासनलाई न्यायोचित, पारदर्शी र बैज्ञानिक बनाउने, करदाताको छुट्टै विद्युतीय लगत बनाउने, कर संकलन अनलाइन प्रणालीलाई सुधार गर्दै जाने, वैदेशिक ऋणको वित्तिय भार न्युन बनाउँदै आगामी आर्थिक बर्षमा वैदेशिक ऋणमुक्त बनाउने राजस्व तथा वित्त व्यवस्था सम्बन्धी नीतिमा उल्लेख छ । बाहृय विज्ञापन व्यवस्थापन, महानगरको संस्कृति, सम्पदा, सभ्यता तथा पर्यटनको प्रवर्छनका लागि निर्माण हुने चलचित्र, नाटकजस्ता विधामा निश्चित मापदण्डका आधारमा अनुदान प्रदान गर्ने नीति पनि घोषणा भएको छ।

त्यका नगरपालिकाहरुको सहकार्यमा सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित गर्ने र सडक मार्गको व्यापार निरुत्साहित गर्ने विषय पनि छन् । खुल्लामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहित भूमिगत पार्किङको  सम्भाव्यता अध्ययन गर्ने नीतिमा उल्लेख छ ।

सूचना प्रविधिको प्रयोगबाट न्याय सम्पादन सरल, सहज र पहुँच योग्य बनाउने र कानून तथा मानव अधिकार सम्बन्धी नीतिमा यससँगै मेलमिलाप केन्द्रको स्तरोन्नति गर्नेलगायत विषय समेत समेटिएका छन् । भर्टिकल गार्डेन, कौसी तरकारी खेती, शीत भण्डारको स्थापना लगायत बुँदा कृषि सम्बन्धी नीतिमा समावेश छ ।

पशुजन्य व्यवसायको अभिलेखीकरण, छाडा चौपायाको व्यवस्थापन, मासुजन्य उत्पादन तथा विक्री वितरण व्यवसायको मापदण्ड पूरा गराउने, मृत जीवजन्तुको व्यवस्थापन पशु सेवा सम्बन्धी नीतिमा उल्लेख छ ।

अल्जाइमर्स, पार्किन्सन्सजस्ता रोगको उपचार गर्ने अस्पतालहरुसँग सहकार्य गर्ने, पूर्ण अशक्तलाई साविकमा दिइँदै आएको मासिक ३ हजार रुपैयाँलाई बढाएर ६ हजार रुपैयाँ पुर्‍याइने भएको छ ।

खेलकुदमार्फत युवाहरुको व्यक्तित्व विकासका लागि खुल्ला व्यायामशाला निर्माण गरिनेछ । एरोविक्स र योगा सञ्चालन गर्न पूर्वाधार विकास गरिने भएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन गर्न क्लवहरुसँग सहकार्य गर्ने र सन्ध्याकालीन खेल सञ्चालनका लागि फ्लड लाइटको व्यवस्था गर्ने समेत उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments