

काठमाडौं : काठमाडौंका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। सोमबार उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन्।
मेयर शाहले चुनावी अभियानमा तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ खर्च भएको उल्लेख गरेका छन् । सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा भएको छ । १५ दिन १८५ र २४५ जनालाई खाजा र खानामा १ लाख १३ हजार ५०० रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन् ।
मेयर शाहले मतगणना ढिलो भएर उम्मेदवारका लागि महंगो भएको पनि बताएका छन् । भनेका छन्, ‘जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’
उम्मेदवारका रूपमा आफूले पाएको साथ र विश्वास सबभन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन नसक्ने पनि जनाएका छन् ।
उनले लेखेका छन् :-
खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ /-) भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।
र, भन्नै पर्ने कुरा छ – एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।

