काठमाडौं। सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले घोषणा गरेको नयाँ दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध उजुरी परे पनि सोही नाममा दल दर्ता हुन सक्ने देखिएको छ।
दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन परेपछि उनले गठन गरेको दलको नामविरुद्ध लगातार उजुरी परेको थियो। यसरी उजुरी पर्न थालेपछि ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नाम दर्ता होला कि नहोला भन्ने आम चासो छ।
कानून तथा दल दर्ताको नजीर हेर्दा रवि लामिछानेको समूहले माग गरेबमोजिमको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नाममै दल दर्ता हुन सक्ने जानकारहरू बताउँछन्।
पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिह्न ‘घण्टा’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको छ। राजनीतिक दलसम्बन्धी ऐन–२०७३ परिच्छेद –२ मा राजनीतिक दलको दर्ता, गठन र सञ्चालनसम्बन्धी प्रावधान छ।
सो ऐनको परिच्छेद ६ दल दर्ता हुन नसक्ने विभिन्न कारण उल्लेख छ। त्यहाँ उल्लेख भएका सबै दफाहरूमा रवि लाछिमानेको समूहले दिएको निवेदन अस्वीकृत हुने अवस्था नरहेको कानूनका जानकारहरूको दाबी गर्छन्।
यस्तो छ कानूनी व्यवस्था
राजनीतिक दलसम्बन्धी ऐनमा प्रस्तावित दलले संविधानको धारा २६९ को उपधारा (४) बमोजिमको शर्त पूरा गरे दल दर्ता हुने प्रावधान छ। संविधानको धारा २६९ को ५ मा ‘कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिह्न वा झण्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने त्यस्तो राजनीतिक दल दर्ता हुने छैन’ भनिएको छ।
यसअनुसार ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामले धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको छैन।

जानकार भन्छन्, ‘नाम सुहाउँदो भएर तर, कानूनअनुसार दर्ता हुनुपर्छ’
‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाम, उद्देश्य, चिह्न, झण्डालगायत विषय दल दर्तासम्बन्धी ऐन तथा नियमावली प्रतिकूल हुने नदेखिएको वरीष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन्।
उनले भने, ‘‘राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने नामचाहिँ कताकता नमिल्दो, नसुहाउँदो सुनिँदो रहेछ। तर यो नाममा दल दर्ता हुन नसक्ने भन्ने कहीँकतै पनि छैन। संविधान, ऐन नियमावलीअनुसार यो नाममा दल दर्ता गर्न पाइन्छ। आयोगले दर्ता गर्नुपर्छ।’’

आयोग भन्छ, ‘निवेदन अध्ययन गरिरहेका छौँ’
निर्वाचन आयोगले भने निवेदनमाथि अध्ययन भइरहेको बताएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘‘कानूनअनुसार दल दर्ताको निवेदन दिएको ४५ दिनभित्र दर्ता गरिसक्नुपर्ने भनिएको छ। हामीले उहाँहरूको निवेदन अध्ययन गरिरहेका छौँ। दर्ताका लागि केही समय लाग्न सक्नेछ।’’
लामिछानेले घोषणा गरेको पार्टीको दर्ता रोक्न गरिएको मागबारे समेत अध्ययन भइरहेको उनले बताए। प्रवक्ता शर्मा पौडेलले भने, ‘‘केही समूहले निवेदन दिएका छन्। उनीहरूको चासोलाई मध्यनजर गर्दै, प्रचलित कानून तथा नियमहरू अध्ययन गरिरहेका छौँ। अहिलेसम्मको अभ्यास, अरू दल दर्ता गरिएको नजीर र कानून हेर्दा उहाँहरूको नाममा विवाद गर्नुपर्ने विषय खासै देखिँदैन। तर पनि अन्तिम निर्णय केही भइसकेको छैन। कानूनी परामर्शमा नै छौँ।’’
‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नाममा किन आपत्ति ?
‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नाममै दल दर्ता भएमा कुनै पनि दलमा उम्मेदवारी दर्ता नहुने स्वतन्त्र उम्मेदवारमाथि भ्रम र अन्योल उत्पन्न हुने भन्दै दल दर्ता नगर्न आयोगमा उजुरी पर्ने क्रम जारी छ। आउँदो चुनावका लागि स्वतन्त्र उम्मेदवारी अभियान र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरूले निर्वाचन आयोगमा दुई छुट्टाछुट्टै उजुरी दिइरहेका छन्।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डित, पुष्कर शाह, राजकुमार बजगाईं लगायतले निवेदन दिएका छन्। पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ।
उनीहरूले भनेका छन्, ‘‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रूपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउने गरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको छ।’’

यस्तो हुनेछ पार्टीको संरचना
लामिछानेले मंगलबार पूर्णकालीन राजनीति प्रवेश गरेको भन्दै राष्ट्रिय सभागृहबाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका थिए। ‘घण्टी’ लाई पार्टीको चुनाव चिह्न प्रस्ताव गरिएको छ। घोषित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को प्लेन केन्द्रीय कमिटी मात्र बन्ने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालका अनुसार निर्वाचन आयोगमा सभापतिसहित प्लेन कमिटी प्रस्तावित गरिएको छ। प्लेन तदर्थ समितिको बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रातृ संगठन पनि नबनाउने नीति लिएको छ। महाधिवेशन नभएसम्म सभापति र प्रवक्ताबाहेक पदाधिकारी हुने छैनन्।
लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ। जसमा प्रवक्ताबाहेक पदाधिकारी हुने छैनन्। पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।