Saturday, April 27, 2024
Homeराष्ट्रीयबालेन्द्रमाथि खनिए १२ नम्बरका वडाध्यक्ष, पाए कडा जवाफ

बालेन्द्रमाथि खनिए १२ नम्बरका वडाध्यक्ष, पाए कडा जवाफ

काठमाडौं । काठमाडौंको नगरसभा बैठकमा आज एक वडाध्यक्ष मेयर बालेन्द्र साहमाथि आक्रोशित रूपमा प्रस्तुत भएका छन् छन् । उनले आफ्नो वडाको फोहोर व्यवस्थापनमा असहयोग गरेको आरोप लगाएपछि साहले पनि कडा जवाफ फर्काए ।

वडा नम्बर १२ का वडाध्यक्ष बालकृष्ण महर्जनले मेयरबाट आफूलाई प्राप्त भएको आश्वासन पुरा नभएको गुनासो गरेका थिए । उनले आफ्नो वडामा पर्ने टेकु स्टेसनमा फोहोर घट्नुको साटो बढ्दै गएको आरोप लगाए ।

वडाध्यक्ष महर्जनको भनाइ यस्तो थियो :

‘मैले पहिले पनि मेयर सा’बको ध्यानाकर्षण गराएको हुँ । अहिले टेकु स्टेसनमा फोहोर कम हुनुको साटो झन् बढेको छ । पहिले एक ठाउँमा मात्रै डम्पिङ हुन्थ्यो भने अहिले मैले सुनेअनुसार त्यसलाई पालले छोपेर डम्पिङको स्टक बनाएर अर्को ठाउँमा डम्पिङ बनाउन थालिएको छ ।

मैले आजभन्दा १६/१७ दिन अगाडि प्रमुखज्यूसँग कुरा गरेको थिएँ । त्यस बेला उहाँले ५० गाडी, सय गाडी कति चाहियो पठाइदिन्छु भन्नुभएको थियो । मैले त्यति धेरै चाहिँदैन २०/२५ गाडी भए पुग्छ भनेको थिएँ । त्यसपछि मेरै अगाडि फोन गर्नुभएको हो । तर, उहाँले दिएको आश्वासन पूरा भएन ।

कुराकानी भएको ३/४ दिनपछि ४ वटा गाडी आयो । फेरि झकझक्याएपछि थप ४ वटा आयो । यसरी म्याक्सिमम १० वटा गाडी आएको छ । १८ गते एक टिप पनि फोहोर उठेन । १९ गते १३ टिप उठ्यो । २० गते ११ टिप र २१ गते १४ टिप उठ्यो । जबकि दैनिक ३०÷३५ टिपभन्दा बढी गाडीको फोहोर टेकुमा आइरहेको छ । जाने चाहिँ थोरै छ ।

काठमाडौंलाई फोहोरमुक्त बनाउने भन्नुभएको छ प्रमुखज्यूले, तर मलाई विश्वास लागेन । उहाँले मलाई झुट कुरा गरेजस्तो लाग्यो । बारम्बार अवगत गराइरहेको छु । यस्तो पाराले त टेकुको फोहोर कहिले पनि नसकिने भयो । यदि मैले झूट कुरा गएको हो भने अहिल्यै निरीक्षण गर्न जाँदा हुन्छ । भोलिदेखि रेन्टमा भए पनि गाडी लगेर समस्या समाधान गर्नुपर्‍यो । मैले सुनेअनुसार एउटा गाडीले जम्मा १ टिप लैजान्छ । १४ वटा गाडीले १४ टिप लैजान्छन् । भित्र आउने त्यत्रो छ । यसरी कहिले सकिन्छ ?’

वडाध्यक्षले यस्तो आरोप लगाएपछि यस अघिसम्म शान्त रहेका मेयर साह पनि केही आक्रोशित देखिए । उनले महर्जनलाई यस्तो जवाफ दिए:

तपाईँको टेकुमा दुर्गन्ध कम गर्न धेरै काम गरियो, तर धन्यवाद दिन सक्नुभएन । गाडी पठाइदिनुस् भन्नुभयो ४ वटा, ८ वटा पठाइयो, तर धन्यवाद कहिले पनि भन्न सक्नुभएन । फोहोर व्यवस्थापनका लागि दिनरात लागिपरेका छौँ । महानगरको बजेट पारित भइसकेको छैन । बजेट बनाउँदैछौं । छलफल हुँदैछ । फोहोर व्यवस्थापनको समितिमा तपाईँ पनि हुनुहुन्छ । कसरी फोहोरलाई छुट्याएर मल बनाउन सक्छौँ, लिकेज फ्री बनाउन सक्छौँ भन्ने अध्ययन भइरहेको छ । म अहिले तपाईँलाई नै सोध्न चाहन्छु- तपाईँले फोहोर व्यवस्थापनका लागि आफ्नो वडामा के गर्नुभयो ?

यति भनिसकेर साह अलिक नरम बने ।

उनले थपे, ‘अहिले तीनपिप्लेदेखि बञ्चरेडाँडाको बाटो निर्माण हुँदैछ । फोहोर बेलुका ल्याइदिनुस्, बाटो दिउँसो बनाउँछौँ भन्नुहुन्छ । बेलुका लैजान बत्ती छैन । बत्ती लैजाने कुरा गर्दा पहिले बाटो बनाएपछि मात्र लैजान मिल्छ भन्ने जवाफ आउँछ । हामी जसरी पनि म्यानेज गर्न खोज्दैछौं । अनुगमन भइरहेको छ । जुन हाम्रो कार्यक्षेत्रमा पर्दैन त्यसको पनि मनिटरिङ भइरहेको छ ।

टेकुमा दुर्गन्ध हटाउन अर्ग्यानिक केमिकलमा खर्च बढी आएकाले छोप्न खोजिएको हो । दुई दिन नउठेको चाहिँ वर्षाले गर्दा बाटो बिग्रिएर हो । सबैतिर समस्या मात्रै छ । तपाईँ हामी सबैलाई थाहा छ । तर, हामी समाधानकै दिशामा छौँ । अबदेखि डिटेल कुरा समितिबाटै आउनुपर्ने हुन्छ । काठमाडौंको ६ सय मेट्रिक टन फोहोरलाई आफैँ व्यवस्थापन गर्न खोजिरहेका छौँ । मल बनाउँदा सबैभन्दा प्रभावकारी हुने देखियो । यसका लागि नयाँ जापानी टेक्नोलोजीको विषयमा कुरा भइरहेको छ ।’

मेयरले यसो भन्दै गर्दा अर्का एक वडाध्यक्ष कड्किए- तपाईँले आश्वासनको कुरा गर्नुभयो । यस्ता कुरा जनताले अब पत्याउनेबाला छैनन् । मान्ने वाला छैनन् । दुई–तीन वर्षपछिको आश्वासन नदेखाउनुस् । मान्छे बिरामी परिरहेका छन् । उनीहरुलाई बचाउन तत्काल गर्नुपर्ने काम गर्नुपर्‍यो ।

जवाफमा साहले हैजाका बिरामीको उपचारका लागि हेल्पलाइन सुरु गरिएको जानकारी दिए । फोहोरलाई मलमा परिणत गर्न दुई–तीन वर्ष नलाग्ने उनले बताए ।

‘हामीले अध्ययन गरेअनुसार मलको पहिलो ब्याच निस्किन ९० दिन लाग्छ,’ उनले भने ।

त्यसपछि फेरि १२ नम्बरको वडाध्यक्ष महर्जन बोल्न थाले । उनले मेयर साहप्रति थप असन्तुष्टि जनाए ।

फोहोर व्यवस्थापन समितिमा म पनि सदस्य छु भन्ने मलाई थाहा छ । सम्झाइरहनु पर्दैन । धन्यवाद नदिएको गुनासो गर्नुभयो । तर धन्यवाद दिने कामै भएन । ५० वटा कि सय वटा चाहिन्छ, अहिले दिन्छु भन्ने तर खोइ त ? ८ वटा भन्दा आएन । भनेको पुर्‍याउन नसकेपछि कसरी धन्यवाद दिने ? आफैँ हेर्न जानुस् फोहोर कसरी बढ्दै आएको छ । कसरी धन्यवाद दिने महानगरले राम्रो काम गरेको छ भनेर ? ममाथि जुन आरोप लगाउनुभयो, त्यो गलत छ । मैले काम नगरेको भए मलाई भन्नुस् । समितिको संयोजकका हैसियतले मलाई के भन्नुभएको थियो ? समितिले के भनेको थियो ? त्यो चाहियो । अहिले मरिसकेपछि उपचार गर्ने कुरा गर्नुभयो । पहिले भएको फोहोर सफा गर्नुस् । संयोजकको हैसियतले काम अह्राउनुस् । नभए यस्तो आरोप लगाउनुस् ।’

वडाध्यक्षको यस्तो आक्रोशमा बालेन्द्र भने संयमित रहे । उनले बाटोको जति क्षमता हो त्यति नै गाडी पठाउन सकिने बताए ।

‘जम्मा भएको फोहोर बाटोको स्थिति सुधार भएपछि थप लैजान सकिन्छ,’ उनले थामथुम पार्दै भने ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments