Monday, April 29, 2024
Homeआर्थिककांग्रेसले आगामी संसद् बैठक अवरुद्ध नगर्ने, गृहमन्त्रीलाई भने रोस्टममा जान नदिने

कांग्रेसले आगामी संसद् बैठक अवरुद्ध नगर्ने, गृहमन्त्रीलाई भने रोस्टममा जान नदिने

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसका नेता उदय शमशेर जबराले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति बन्नुपर्ने बताएका छन् । उनले आफूहरु उक्त मागबाट पछाडि नहट्ने बताए ।

आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री लामिछानेको नाम पाँच वटा सहकारीमा जोडिएर आएको बताए । उनले आफूहरुले गृहमन्त्री लामिछाने जोडिएको सहकारी प्रकरणबारे संसद्मा सबुद नै पेश गरेको बताए ।

‘संसदीय समिति बनाएर निश्पक्ष छानविन गर्न जरुरी छ । अहिले छानविनका लागि आरोपित व्यक्ति गृहमन्त्रीको नाममा पाँच वटा सहकारीको नाम जोडिएर आएको छ । हामीले यसको बारेमा सब्ुदसहित संसद्मा दिएका छौं ।’ उनले भने, ‘सरकारले उहाँ निर्दोष भनेको छ । हामीले उहाँ दोषी हुनुहुन्छ भनेका छौं । त्यसैले त्यो छानविन गर्न गृहमन्त्रालयअन्तर्गत पुलिस, पुलिसको अन्तर्गत सीआईबी सबैको नाइके गृहमन्त्री हो । निश्पक्ष छानविन हुनसक्ने कुरै हुँदैन । त्यसैले संसद्बाट समिति बनाएर छानविन गर्ने भन्ने कुरा हामीले राखेको हो ।’

साथै, आफूले नयाँ कुराको माग गरेको नभएर यस्ता समितिहरु विगतमा पनि अभ्यासमा रहेको उनले बताए । मन्त्रीको बारेमा कुराहरु निस्किसकेपछि सम्बन्धित मन्त्रालयबाट नभएर संसदीय समितिबाट छानविन हुनुपर्ने उनले बताए । रामशरण महत, शेरबहादुर तामाङ र जनार्दन शर्माको केसमा पनि समिति बनेको उनले बताए ।

कांग्रेसले गृहमन्त्रीलाई अप्ठ्यारो पार्न खोजेको नभएर आफूहरुले सहजीकरण गरेको उनले बताए । प्रधानमन्त्रीले नै गृहमन्त्री निर्दोष भनेर घोषणा गरेको अवस्थामा छानविन समितिले पनि गृहमन्त्रीलाई निर्दोष भनेको अवस्थामा संसद् अवरोध नहुने र जनताले विश्वास पनि गर्ने उनले बताए ।

साथै, कांग्रेसले आगामी संसद् बैठक अवरुद्ध नगर्ने उनले बताए । संसद् सुरु भएपछि गृहमन्त्रीको विरोध गर्ने र नियमित काम कारबाही अगाडि बढ्न दिने उनले बताए । तर, गृहमन्त्रीलाई रोस्टममा जान भने कांग्रेसले रोक्ने उनको भनाइ छ ।

‘हामी संसद् अवरोध गर्ने पक्षमा छैनौं । तर, प्रत्येक दिनको संसद् सुरु हुनु अगाडि हामीले गृहमन्त्रीका कुराहरु राख्छौं । संसदीय छानविन समितिको माग गर्छौं । हाउस चल्न दिन्छौं । हाउसको अरु विजनेशलाई रोक्दैनौं ।’ उनले भने, ‘छानविन समिति नबनाई गृहमन्त्रीलाई हामी मञ्च (रोस्टम) मा जान दिँदैनौं । उहाँहरुले मान्दै नमानेको अवस्थामा केही दिनपछि हामी हाउस अवरुद्ध गर्न बाध्य हुनेछौं ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments