Wednesday, May 1, 2024
Homeआर्थिकबाँडेर प्रिय हुने दृष्टिकोणको धरातलमै खोट छ : पूर्वमुख्यसचिव

बाँडेर प्रिय हुने दृष्टिकोणको धरातलमै खोट छ : पूर्वमुख्यसचिव

काठमाडौं, १ असार । पूर्वमुख्यसचिव डा. विमल कोइरालाले निवर्तमान मुख्यसचिव शंकरदास वैरागीको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्ति प्रक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चुकेको टिप्पणी गरेका छन् ।
‘अहिले राष्ट्रिय सुरक्षा परिषदको ऐन नै बनेको छैन । नयाँ कार्यविधि बनाएर सल्लाहकार नियुक्ति दिनु स्वस्थ देखिएन । त्यसमा प्रधानमन्त्री चुक्नुभयो । बरु शंकरजीलाई प्रधानमन्त्रीकै सचिवालयमा राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति दिनु राख्नु शोभनीय हुन्थ्यो । त्यो पनि तत्काल नभएर केही दिनपछि दिएको भए हुन्थ्यो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने । डा. कोइरालाले भारतमा अजित डोभाल, अमेरिकामा वरिष्ठ अर्थशास्त्रीहरुलाई त्यस्तो नियुक्ति दिइएको दृष्टान्त दिए ।
साथै उनले मुख्यसचिवमा डा. वैकुण्ठ अर्यालको नियुक्तिका निम्ति प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद पनि दिए । डा. कोइरालाले भने, ‘राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्ति प्रक्रियामा केही असहमति भए पनि उम्दा प्रशासकलाई मुख्यसचिवको नियुक्ति दिनु खुसीको कुरा हो । मेरो मूल्यांकनमा वैकुण्ठ अर्याल गिनेचुनेका प्रशासक हुनुहुन्छ । उहाँको कार्यसम्पादन निकै राम्रो छ । भविष्यमा पनि राम्रो गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । उहाँको नियुक्तिमा म प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु ।’
पूर्वमुख्यसचिव डा. कोइरालाले राजनीति नसुध्रिएसम्म प्रशासन नसुध्रिने ठोकुवा गरे । उनले थपे, ‘हाम्रो प्रशासन ज्यादै आज्ञाकारी छ । हवस् हजुर भन्ने, काम कहिल्यै नहुने भएकाले राजनीतिप्रति मात्र होइन, प्रशासन प्रति पनि जनताको वितृष्णा छ । जबसम्म राजनीति सुध्रिँदैन, तबसम्म प्रशासन सुध्रिँदैन । प्रशासनका कारण पनि राजनीति बदनाम छ । धन्न यो वितृष्णा विद्रोहमा बदलिएको छैन ।’
प्रियतावाद छाडेर मुलुक बनाउँछु भन्ने नेतृत्व नभएकाले जनताले दुःख पाइरहेको डा. कोइरालाले बताए । उनले भने, ‘मुलुकको शासन व्यवस्था क्षतविक्षत छ । यसमा कर्मचारी सँगसँगै बिचौलिया पनि जिम्मेवार छन् । प्रियतावाद छाडेर मुलुक बनाउँछु भन्ने नेतृत्व नभएकाले हामीले दुःख पाइरहेका छौं । कर्मचारीकै मिलेमतोमा नक्कली भुटानी शरणार्थी प्रकरण हुनु दुर्भाग्यपूर्ण हो । यो संगठित मानव तस्करी हो । त्यसैले जनताले यस्तो सरकार हुनुभन्दा सरकारै नहुनु जाती भन्न थालेका हुन् ।’ राजनीतिमा बालेन शाह र हर्क साम्पाङको उदयसँगै परिवर्तनको झिल्को बढ्दै गएको पनि उनले बताए ।
नयाँ बजेट नेपालको सुदूर भविष्य हेर्नेभन्दा पनि सरकार कसरी टिकाउने भनेर आएको डा. कोइरालाको कथन छ । उनले भने, ‘नयाँ बजेटले सुधार गर्छु भन्ने सामान्य संकेत दिएको छ । अर्थमन्त्रीले संरचनागत सुधार गर्ने मौका पाउनुभएको थियो । तर उहाँले मुलुकको सुदूर भविष्य हेर्नुभएन । नेपालमा डा. प्रकाशचन्द्र लोहनी, महेश आचार्य, डा. रामशरण महतबाहेकका अर्थमन्त्रीले ल्याएका बजेट कर्मकाण्डी नै छन् । अहिले पनि सत्ता जान्छ भन्ने मनोवैज्ञानिक त्रासमा बजेट ल्याएको छ ।’ बजेट भगवान् कृष्णले बोलेको गीता नभएकाले संशोधन हुन सक्ने पनि उनले बताए ।
संघको मात्र नभएर प्रदेशको बजेटमा पनि समस्या भएको अर्थविद् समेत रहेका डा. कोइरालाले बताए । उनले भने, ‘प्रदेशमा अवसर छ । तर दक्षताको अभाव छ । प्रदेशले सुरुवात नयाँ ढंगबाट गर्नुपर्थ्र्यो । तर प्रदेशले पनि सांसदलाई पाँच-पाँच करोड छुट्याउनु दुर्भाग्य हो । स्थानीय तहलाई बलियो बनाएर काम गर्नुपर्नेमा समानान्तर संरचना बनाउनु विडम्बना हो ।’ उनले बाँडेर प्रिय हुने दृष्टिकोणको धरातलमै खोट रहेको औंल्याए ।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments