टेलिभिजन कार्यक्रमबाट चर्चामा आएका रवि लामिछानेले बिहीबार अचानक आसन्न संसदीय चुनावमा उम्मेदवारी दिने घोषणा गरे । उनले कुन क्षेत्र नम्बरबाट चुनावमा उम्मेदवारी दिने भन्नेबारे भने खुलाएका छैनन् ।
यद्यपि रविले काठमाडौं–३ बाट चुनावमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको चर्चा व्यापक छ । उनले आफ्नो उम्मेदवारीबारे आउँदो मंगलबार राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर जानकारी दिने बताएका छन् ।
रविले दल वा स्वतन्त्रबाट उम्मेदवारी दिनेबारे पनि प्रष्ट पारिसकेका छैनन् । बिहीबार सञ्चारमाध्यमसँगको कुराकानी हेर्दा रविले दलबाट चुनाव लड्ने आशय पनि व्यक्त गरेका छन् ।
‘मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ । तर, मलाई अहिलेका राजनीतिक दलहरूमा त्यति धेरै चासो छैन । तर, म सल्लाहको चरणमा छु,’ उनले सञ्चारमाध्यमसँग भनेका छन् ।
धेरैले रवि राप्रपाबाट चुनाव लड्ने अनुमानसमेत गरेका छन् । उनका ससुरा उद्धव पौडेल केही दिनअघि मात्र कमल थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गर्दै राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपामा फर्किएका थिए ।
ससुरा राप्रपा फर्किएलगत्तै रविले उम्मेदवारी घोषणा गर्नुले उनले राप्रपाबाट चुनाव लड्नसक्ने अनुमान हुन थालेका हुन् । तर, लामिछानेले यो कुरा ठाडै अस्वीकार गरे ।
उनले सञ्चारमाध्यमसँग भनेका छन्, ‘त्यो उहाँको (ससुरा) निर्णय भयो, मेरो न कुनै दबाब हुन्छ । न प्रभाव हुन्छ ।’